सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

विज्ञापन संघको नेतृत्वमा धिताल

काठमाडौं : नेपाल विज्ञापन संघको अध्यक्षमा सोमप्रसाद धिताल निर्वाचित भएका छन् । संघको २१औं वार्षिक साधारण सभा धितालको नेतृत्वसहितको १०औं कार्यसमितिको चयन गरेको हो ।

आगामी ३ बर्षको कार्यकालको लागि सोम प्रसाद धितालको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुदिप थापा र द्वितिय उपाध्यक्ष पिताम्बर पोख्रेल “बिजय” निर्वाचित भएका छन् । महासचिवमा कृष्ण प्रसाद घिमिरे चयन भएका छन् भने कोषाध्यक्षमा पंकज लाल प्रधान छन् । सचिवमा सन्तोष खड्का, सह–कोषाध्यक्षमा जिवन पोख्रेल निर्वाचित भएका छन् । 

सदस्यहरुमा क्रमशः साजन श्रेष्ठ, बिशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने, बिधान राजभण्डारी विजय भएका छन् । निर्वाचनमा तीन पद क्रमशः प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सह—कोषाध्यक्ष निर्विरोध चयन भएको छ ।

सदस्य पदमा १५ जना प्रत्यासी र वरिष्ठ उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव तथा सचिव पदमा २/२ जना प्रत्यासी थिए । संघको बिधान अनुसार वरिष्ठ उपाध्यक्षले वर्तमान कार्यसमितिको “एस भोट” बाट आगामि कार्यकालको लागि स्वतः अध्यक्ष रहने प्रावधान छ । संघमा आवद्ध सम्पूर्ण सदस्यले मतदान गरेका थिए । 

उपस्थित महानुभावहरुमा संघलाई हौसला प्रदान गर्न कार्यक्रममा सहभागि भई दिुन भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै निर्वाचन प्रजातान्त्रिक प्रकृया मात्र भएको र जो जसको प्रत्यासि रहे पनि आगमि दिनमा सबै मिलेर विज्ञापन व्यवसायको विकास, विस्तार र प्रर्वद्धनमा नवनिर्वाचित कार्यसमितिको नेतृत्वमा संघ अगाडि वढ्नुपर्ने आनका नवनियुक्त अध्यक्ष सोम प्रंसाद धितालले बताए । 

एभरेष्ट होटेल काठमाडौंमा अध्यक्ष रबिन्द्रकुमार रिजाल 'शशि'को अध्यक्षता र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा विशेष अतिथिको रुपमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अतिथिहरुमा संघका पूर्व अध्यक्ष तथा पदाधिकारी, विज्ञापन बोर्डका प्रतिनिधिहरु र विभिन्न संघ संस्था, सरकारी निकायको उपस्थिति थियो ।