ताराखोलाले बनायो प्रशासनिक भवन

बागलुङ – बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको प्रशासनिक भवनको निर्माण सकिएको छ । ठेक्का सम्पन्न गर्ने सम्झौता मितिअगाडि नै सुविधा सम्पन्न प्रशासनिक भवन बनेको ताराखोला गाउँपालिकाले जनाएको छ ।
पाँच करोडको लागतमा निसान आचार्य वि.के जेवी निर्माण कम्पनीले पाँच महिना अगावै ताराखोला गाउँपालिकामा लिफ्ट सुविधासहित अपाङ्गमैत्री प्रशासकीय भवन निर्माण गरेको हो । लिफ्टसहितको सुविधासम्पन्न सो भवन जिल्लाकै पहिलो प्रशासनिक भवन हो । नेपालमा सङ्घीयता लागू भएपछि स्थानीय सरकारलाई प्रशासनिक कार्यका लागि सुविधासम्पन्न भवनको अभाव हुँदै आएको थियो ।
ताराखोला गाउँपालिकाले हालसम्म प्रशासनिक शाखा कार्यालयहरु सार्वजनिक तथा निजी भवन भाडामा लिएर कार्य सम्पादन गर्दै आएका छन् । गाउँपालिकाले साबिक अर्गल गाविसको भवनबाट कार्य सम्पादन सुरुआत गरेको थियो । भवनलाई स्तरोन्नति गरी प्रशासनिक कार्य सम्पादन गर्दै आएकामा गण्डकी प्रदेश सरकारको ६० प्रतिशत अनुदान र गाउँपालिकाको ४० प्रतिशत गरी कूल रु पाँच करोडको लागतमा ठेक्का प्रक्रियाबाट भवन निर्माण सुरु गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।
उनले नवनिर्मित प्रशासकीय भवनबाट फागुन १ गतेदेखि सेवा दिने तयारीमा रहेको बताए । “अहिलेको भवन निकै साँघुरो थियो, सेवा प्रवाहमा निकै समस्या थियो”, अध्यक्ष घर्तीले भने, “नयाँ प्रशासनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमा समेत सहज हुने अपेक्षा रहेको छ ।”
निसान आचार्य वि.के जेवी निर्माण कम्पनीले २०७७ असार २० गते पाँच करोड १० लाख सात हजार लागतमा भवन निर्माण गर्नका लागि सम्झौता गरेको थियो । २०७९ साल असार २० गते सम्पन्न गर्नुपर्नेमा ६ महिनाअगाडि नै भवन निर्माण सकिएको र माघ महिनाभित्रै गाउँपालिकालाई हस्तान्तरण गरिने निर्माण कम्पनीका प्रतिनिधि ओमप्रकाश घर्तीले बताए ।
तीनतलाको लिफ्टसहितको भवनमा ३०० क्षमताको सभाहल, योजना शाखा, आइटी शाखा, प्राविधिक शाखा, राजस्व, लेखा र स्टोर, उपाध्यक्ष कक्ष, कानुनी कक्ष, सार्वजनिक कक्ष, पुस्तकालय, सुरक्षा कक्ष, अध्यक्ष कक्ष र प्रशासकीय अधिकृत कक्ष रहने गाउँपालिकाले जनाएको छ । एकपटकमा ६ जना चढ्न मिल्ने लिफ्ट अहिलेको अत्यन्तै आधुनिक लिफ्ट भएको र त्यसको मूल्य रु ३५ लाख परेको गाउँपालिका अध्यक्ष घर्तीले बताए । ताराखोलाको स्थानीय ढुङ्गा टाँसेर भवनलाई आकर्षक तथा परम्परागतसमेत बनाइएको छ ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया