शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

राहदानीको अनलाइन फर्म किर्ते गरेको अभियोगमा ३ पक्राउ

काठमाडौं–राहदानीको अनलाइन फर्म कीर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा काठमाडौं सोल्टिमोड बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ घर भएका ३५ वर्षीय दिनेश तामाङ, काठमाडौं टोखा बस्ने लम्जुङ बेसीसहर गाउँपालिका–११ घर भएका ४० वर्षीय नवीनकुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे घर बताउने ३६ वर्षीय यमबहादुर थापा मगर रहेका छन्। 

काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी विभागको हाता बाहिर राहदानीको अनलाइन फर्मको किर्ते गरी सेवाग्राहीहरुबाट रकम असुल उपर गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ४० हजार रुपैयाँ, १ थान कम्प्युटर, १ थान ल्यापटप, १ थान प्रिन्टर र ५० थान कीर्ते गरिएका कागजपत्र समेत प्रहरीले बरामद गरेको छ। 

उनीहरू उपर कीर्ते गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।