हिमपातले सुदूरपश्चिमका तीन वटा राजमार्ग अवरुद्ध

बैतडी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अपराह्नदेखि हिमपात सुरु भएको छ । यहाँ तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । बैतडीको अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौँ सिगास, मेलौलीलगायका क्षेत्रमा हिमपात भएको छ । यसका साथै डोटीको गैरा, डडेल्धुराको भीमदत्त राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । बिहानैदेखि वर्षा भएको र अपराह्नपछि हिउँ पर्न सुरु भएको हो ।
हिमपातका कारण यहाँका तीन राजमार्ग बन्द भएका छन् । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । उनले भने्, “राजमार्गको ढोल्यामोड क्षेत्रमा भारी हिमपात भएकाले राजमार्ग ठप्प भएको छ ।” सतबाँझ क्षेत्रको हिमपातले महाकाली राजमार्ग र अनारखोली, खोडपे क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग अवरुद्ध रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
उनले भने, “राजमार्ग क्षेत्रमा भारी हिमपात भएको छ, सवारी आवागमन रोकिएको छ । हिउँ पर्ने क्रम जारी छ । बाटो खोल्ने प्रयास गरिरहेका छौँ ।” यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । हिमपातले चिसो बढेकाले जनजीवन कष्टकर बनेको दशरथचन्द नगरपालिका–१ मुस्याचौरका महेश भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वर्षासँगै हिउँ परिरहेको छ, अत्यधिक चिसो छ । बाहिर निस्कनै मुस्किल भएको छ ।”
वर्षा र हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न आग्रह गरिएको छ । वर्षासँगै हिमपात भएपछि किसान भने खुसी भएका छन् । हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । रासस

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया