सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

सुर्खेत– सुर्खेतमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । वीरेन्द्रनगर–११ धुलियाबीटमा आज (बिहीबार) दिउँसो स्थानीय २२ वर्षीय भुवन बुढाको करेन्ट लागेर मृत्यु भएको हो । 

घरमा जोडेको बिजुलीको तर बाँसमा राखेर अग्लो बनाउन खोज्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। सोही घटनामा परी स्थानीय २० वर्षीय दुर्गा रोकाया घाइते भएका छन् । उनको वीरेन्द्रनगरस्थित देउती अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य छ ।

तार अग्लो बनाउन प्रयोग गरिएको बाँस खाडलमा राख्ने बेला फुत्किएर बिजुलीको नांगो तारमा खसेपछि बुढालाई करेन्ट लागेको हो । ‘बाटो बनाउन लागेको भएर तार अग्लो बनाउन खोजिएको रहेछ, तार राख्न भनेर बनाइएको बाँस खाल्डोमा हाल्दा फुत्किएर बिजुलीको मुख्य तारमा परेछ,’ डिएसपी घर्तीले भने, ‘त्यही बाँसबाट करेन्ट लिक भएर मानिसलाई लागेछ।’