राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखले दिए सोनाम ल्होसारको शुभकामना

काठमाडौँ - तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले शुभकामना व्यक्त गरेका छन् । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले परम्पराअनुसार मनाउँदै आएको सोनाम ल्होसारको अवसरमा उनीहरूले
सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएका हुन् ।
राष्ट्रपति भण्डारीले यस प्रकारका चाडपर्वले हाम्रो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै मौलिक पहिचान अभिवृद्धि गर्नसमेत सहयोग पुर्याएरहेको बताएकी छिन् । 'बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु' शुभकामना सन्देशमा भनिएको छ ।
तामाङ सेलो गीत तथा टुङ्ना र डम्फुको सङ्गीत लोकभाकाको अभिन्न अङ्गः उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले तामाङ सेलो गीत तथा टुङ्ना र डम्फुको सङ्गीत नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अङ्ग बनेको बताएका छन्। ‘तामाङ समुदायको महान् सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होसार–२८५८ को अवसरमा शुभकामना दिँदै उनले भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध रहेको बताएका हुन् ।
काठमाडौँ उपत्यका आसपासका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेशभूषासहितको छुट्टै पहिचान रहेको स्मरण गर्दै उहाँले सोनाम ल्होसारले सम्पूर्ण नेपालीका बीच आपासी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरे ।
ल्होसार पर्व मान्यजनबाट टीका थाप्ने, आशिर्वाद लिने, खालुम, खाप्से, ड्यासिल, गुथुकजस्ता मौलिक परिकार खाने, जमघट, नाचगान गरेर मनाइने गरेको उल्लेख गर्दै उपराष्ट्रपतिले ल्होसारलाई आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा पनि लिनुपर्ने बताए ।
ल्होसारका अवसरमा देश–विदेशमा रहेका तामाङ दिदीबहिनी तथा दाजुभाइ र आम नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै उहाँले विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सरकारद्वारा जारी नियमको पूर्णपालना गरेर पर्व मनाउन सबैमा अपिल गरेका छन् ।
स्वास्थ्यका मापदण्ड पालना गर्दै ‘सोनाम ल्होसार’ मनाऔँ : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष गरी तामाङ जातिले परापूर्वकालदेखि मान्दै आएको ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायका नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन् ।
उनले शुभकामना सन्देशमार्फत सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नो विशिष्ट पहिचान रहेको उल्लेख गर्दै यी पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताएका छन् ।
उनले कोभिड–१९ नियन्त्रणका लागि अवलम्बन गरिएका रणनीति प्रभावकारी देखिए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै यो पर्व हर्षाेल्लासपूर्वक मनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरे ।
सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाडपर्व महत्वपूर्ण : सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले सामुदायिक एकत्व, आपसी हित, भ्रातृत्व र सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाड पर्वले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
तामाङ समुदायको नयाँ वर्ष २८५८ एवं सोनाम ल्होसारको अवसरमा एक शुभकामना सन्देश दिँदै उनले भिन्न–भिन्न जात जातिले मनाउने पहिचानसहितका हाम्रा मौलिक चाडपर्वको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।
तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होसारको आफ्नै विशेषता र महत्व रहेको तथा चन्द्र पात्रोमा आधारित यो नयाँ वर्षसँगै आजदेखि बाघ वर्ष सुरु भएको छ ।
सभामुख सापकोटाले कोरोना भाइरसको महामारी कायम रहेकाले चाड पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउनुहुन सबैमा अपिल गरेका छन् । उनले यस पर्वले शान्ति, मित्रता, सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका शेर्पाले जानकारी दिए । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस वर्ष बुधबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया