राष्ट्र बैंक र आईएफसीबीच 'साइकोमेट्रिक स्कोरिङ्ग' सम्बन्धी समझदारी

काठमाडौँ- नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी नयाँ ढङ्गले प्रस्तुत हुने साइकोमेट्रिक स्कोरिङले प्रणालीलाई थप प्रविधिमैत्री बनाई सहज, सरल र जोखिममुक्त कर्जा प्रवाहलाई प्रवर्धन गर्ने अपेक्षा लिइएको छ ।
व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनका रूपमा डिजिटल वित्तीय सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त नवप्रवर्तन विधिको परीक्षण चरणका लागि आज गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारी र आईएफसी नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेले समझदारी पत्रमा हस्ताक्षर गरे। जापान सरकार र संयुक्त अधिराज्य (बेलायत) सरकारसँगको साझेदारीमा नेपालको वित्तीय प्रणालीमा उक्त विधि दुई वर्षको अवधिको लागि परीक्षण गर्न लागिएको हो ।
आज भएको समझदारीबमोजिम यस विधिमार्फत लघु तथा खुद्रा कर्जा लिने व्यक्ति तथा लघु, साना र मझौला उद्यमहरूलाई औपचारिक वित्तीय सेवाको दायरामा ल्याउने अपेक्षा गरिएको छ । यसले बैंक तथा वित्तीय संस्थालाई सम्भावित ऋणीको व्यक्तित्व र मनोवैज्ञानिक विशेषताको तथ्याङ्कीय विश्लेषणका आधारमा जोखिम प्रोफाइल तयार गर्न सक्षम बनाई औपचारिक वित्तीय सेवामा समाहित हुन सेवाग्राहीलाई ऋण उपभोग गर्न आकर्षित र सरल बनाउने अपेक्षा राखिएको छ ।
यसबाट विगतमा वित्तीय सेवाको पहुँच नपुगेका सेवाग्राहीमा वित्तीय सेवा विस्तारमा समेत सहज हुने विश्वास लिइएको छ। कार्यक्रममा गभर्नर अधिकारीले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा आईएफसी र राष्ट्र बैंकबीच विगतदेखि नै सहकार्य हुँदै आएको उल्लेख गर्दै नयाँ समझदारीको कार्यान्वयनबाट लघुकर्जा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरे।
यसै गरी आईएफसीका आवासीय प्रतिनिधि फायेले नयाँ सहकार्य गर्ने अवसर दिएकोमा राष्ट्र बैंकलाई धन्यवाद दिँदै उक्त समझदारीले वित्तीय पहुँच विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू डा. नेफिल मातङ्गि मास्के र देवकुमार ढकाललगायत बैंकका अन्य अधिकारीहरूको उपस्थिति थियो ।

क्लासिक टेकले व्यवसायवर्ग लाइ सार्वजनिक गर्यो,1Gbps Enterprise – Pro इन्टरनेट …
नेतालाई गभर्नर बनाएको भन्दै विश्वनाथ पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार …

कतिमा करोबार हुँदैछ आज विदेशी मुद्रा ?

जलविद्युत् आयोजना जोगाउन सडक संरचना परिवर्तन गरिने

‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण जेठ २० गतेदेखि

वेस्ट ह्याकाथन आयोजना गर्दै एनसेल फाउन्डेसन

कजारियाको नयाँ शोरूम जीतपुर, बारामा उद्घाटन

प्रतिक्रिया