फूलको थुंगासमेत नपाएका सहिदका सालिक

तनहुँ – पृथ्वी राजमार्गको छेउमा सहिद लालध्वज पार्क छ । कोत्रे बजारमा रहेको सानो पार्कमा सहिद लालध्वज गुरुङसँगै सर्वसिङ गुरुङ, हस्तवीर गुरुङ र इमानसिङ गुरुङको सालिक ठडाइएको छ । ढुंगामा कुँदिएको सालिक राजमार्ग छेउमै भएकाले धुलाम्मे देखिन्छ । ढुंगा बिछ्याइएको पार्कमा पनि धुलो जमेर त्यसैमाथि झारपात उम्रेका छन् ।
आइतबार देशभर सहिद दिवस मनाइएको छ । देश परिवर्तनका निम्ति क्रान्तिमा होमिएर प्राणको आहुति दिएका सहिदहरूको सालिकमा माल्यार्पण गर्दै योगदानको चर्चा गरेर विभिन्न स्थानमा दिवस मनाइयो । तर, राजमार्गको छेउमा रहेको कोत्रेको सहिद पार्कमा भने केही कार्यक्रम भएन ।
स्थानीय सरकार, स्थानीयवासी, राजमार्गमा ओहोरदोहोर गर्ने यात्रु कसैको नजर परेन । र, निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धमा लागेर कोत्रे बजारमा २०१८ सालमा सहादत प्राप्त गरेका ती सहिदको सालिकले सहिद दिवसको दिनमा पनि एउटा फुलको थुंगो पाएन । सालिकमा माल्यार्पण भएन । सहिद दिवसको दिनलाई मात्रै भए पनि पार्क परिसर सरसफाइ गरेर चिटिक्क बनाउन सकेनन् कोत्रेवासीले ।
शुक्लागण्डकी नगरपालिका-२ हलेदीमा पनि पृथ्वी राजमार्गको छेउमा जनयुद्धका सहिदहरूको सम्झनामा स्मृति पार्क बनाइएको छ । पार्कमा जनयुद्धका सहिदको बलिदानीलाई सम्मान गर्दै प्रतिकात्मक मूर्ति राखिएको छ । त्यहीको मूर्तिको छत्रछायामा बसेर आइतबार एक घण्टा सहिदको स्मरण गर्नलाई पनि सहिद स्मृति पार्क निर्माण समितिले कन्जुस्याइँ गर्यो ।
२०४६ सालको जनआन्दोलनमा सहादत प्राप्त गरेका सहिद कृष्णप्रसाद पौडेलको सालिकले पनि सहिद दिवसको दिन फुलको थुंगो पाएन । शुक्लागण्डकी नगरपालिका-८ पाटनमा उनको स्मृतिमा पार्क त बनाइएको छ । तर, पार्कमा राखिएको सालिकले फुलको थुंगोसमेत नपाएको बेला उनको योगदानको चर्चा हुने भएन नै ।
यी त केबल प्रतिनिधि सहिदका सालिक हुन् । वर्षभरी बेवास्ता गरे पनि कम्तीमा एक दिन सहिद दिवसमा समेत सहिदका सालिकले फुलको थुंगो पाउन मुस्किल देखिएको छ । देशभर सहिद दिवस मनाइरहँदा सहिदका सालिकले एउटा फुलको थुंगोसमेत नपाउनुले सहिदको योगदानको अपमान भएको महसुस गर्छन् सहिद परिवार ।
सहिद कृष्णप्रसाद पौडेलका पुत्र हिमाल पौडेल सहिदलाई एक दिन मात्र नभई हरेक दिन सम्झनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘सहिदलाई सम्झेर मात्र हुँदैन । सहिदले देखाएको बाटोमा पनि हिँड्न सक्नुपर्छ । के सपना देखेर प्राणको आहुति दिएका थिए ? के प्राप्ति भइरहेको छ ? राजनीतिक दलहरूले मूल्याङ्कन गर्न सक्नुपर्छ ।’
देशमा तीन तहका सरकार छन् । विभिन्न शासन व्यवस्था परिवर्तनका भएर संघीयता कार्यान्वयनमा आएको छ । त्यसका लागि हजारौं सहिद बनेको भुलेका छन् तीनै तहका सरकारले ।
शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले कोरोना संक्रमणका कारण कार्यक्रम गरेर सहिद दिवस मनाउन नपाएको बताए । उनले भने, ‘हामीले सहिदको योगदान बिर्सन्न हुँदैन । एक दिन मात्रै होइन हरेक दिन स्मरण गनुपर्छ । तर यसपालि कोरोना कहरले गर्दा कार्यक्रम गरेर मनाउन पाएनौं’, उनले भने ।
व्यास नगरपालिका–८ पुलिमराङ अर्थात् सहिद गाउँमा भने सहिदको योगदानको चर्चा गर्दै दिवस मनाइएको छ । राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्धको क्रान्तिमा होमिएर पुलिमराङका ६ जनाले सहादत प्राप्त गरेका थिए । आइतबार व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने लगायतका जनप्रतिनिधि पुलिमराङस्थित सहिद स्मारक पार्कमा पुगेर सहिदको सालिकमा माल्यार्पण गरे ।
सहिदका गाउँलेलाई सम्बोधन गर्दै मेयर न्यौपानेले गुरुयोजना अनुसार सहिद स्मृति पार्क निर्माणलाई सहयोग गर्ने बताए । पुलिमराङ चिनाउन व्यासले वर्सेनी अल्ट्रा म्याराथन गर्दै आइरहेको थियो । यसपालि कोरोना कहरले हुन नपाएको म्याराथन अवस्था सामान्य भएमा फागुन ७ गते प्रजातन्त्र दिवसमा गर्ने उनको प्रतिबद्धता छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया