शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

बालबालिकामा किन बढ्दैछ कुष्‍ठरोग ?

उपचार नि:शुल्क हुन्छ भन्‍ने थाहा नहुँदा पनि समस्या

फाइल तस्बिर

काठमाडौँ- मुलुकभर बालबालिकामा कुष्‍ठ रोगीका बिरामी बढ्दै गएका छन् । सन् २०१० मा नेपाललाई कुष्‍ठ रोग निवारण मुलुकको रुपमा घोषणा भएको थियो । वर्षेनी कुष्‍ठरोगीका बिरामी बढेसँगै बालबालिकामा यो रोग बढ्नेको संख्या बढिरहेको स्वास्थ्य सेवा विभाग अन्तरगर्त अपाङ्‌ग तथा कुष्ठरोग नियन्त्रण केन्द्रका प्रमुख डा. रविन्द्र बास्कोटाले जानकारी दिए ।

आइतबार ६९ औं विश्‍व कुष्‍ठरोग दिवसमा उनले इकागजसँग भने,' यसवर्ष मात्र १०१ बालबालिकामा कुष्‍ठरोग देखिएको छ । १० देखि १४ वर्षका वर्षेनी बालिकामा वृद्धि हुँदै गएको छ । ' केन्द्रका अनुसार १० देखि ४५ वर्षसम्मका मानिसमा कुष्‍ठरोग देखिएको छ । बालबालिकामा देखिएको साना-साना दागलाई परिवारले वास्ता नगर्दा यस्तो कुष्‍ठरोगीको संख्या बढेको उनले बताए । 

नेपालमा ११ वर्षमा ३५ हजार भन्दा बढी बिरामी थपिएका छन् । प्रत्येक वर्ष तीन हजार/३५ सयको दरले कुष्‍ठरोगी थपिएको उनको भनाइ छ । सन् २०१० ताका  नेपालमा प्रति १० हजार जनसंख्यामा एक प्रतिशतभन्दा कम कुष्‍ठ रोगी थिए । नेपालले २०२० सम्ममा कुष्ठरोग उन्मुलन गर्ने लक्ष्य राखेको थियो । त्यो लक्ष्य अहिलेसम्म पुरा हुन सकेको छैन ।  

एक वर्षमा कति संक्रमित थपिए

आर्थिक वर्ष २०७७/०७८ मा मात्रै २१ सय ७३ जना नयाँ कुष्‍ठ रोगी थपिए । डा. बास्कोटाका अनुसार संक्रमितमध्ये ३७ प्रतिशत महिला रहेका छन् । १५ वर्षभन्दा कम उमेर समूहका १०१ जना बालबालिका र ९५ जनाको कुष्‍ठरोगका बिरामी अंगभंग भएको अवस्थामा भेटिएका छन् । झापा, मोरङ, धनुषा, पर्सा, बारा, रौतहट, कपिलवस्तु, रुपन्देही, बाँके, कैलाली गरेर ११ जिल्लामा सबैभन्दा बढी संक्रमित छन् । 

नेपालमा कुष्‍ठरोगी पुरुषमा बढी रहेको छ । पुरुषहरू बढी बाहिर हिड्ने भएका र उपचारका लागि खुल्ने हुँदा तथ्यांकमा उनीहरू धेरै देखिएको हुन सक्ने डा.बास्कोटाको तर्क छ । महिलामा समस्या भए पनि चाँडो उपचारको पहुँचमा नपुग्दा वास्तविक तथ्यांक सार्वजनिक हुन सकेको छैन ।

यस रोगको प्रकृतिअनुसार सानो-सानो दाग हुन्छ । चिलाउँदैन, दुख्दैन । केही होइन भनेर बेवास्ता गर्दा पनि यसले विकरालको रुप लिने गरेको छ । अध्ययनअनुसार यस रोग बढ्नुमा आर्थिक पाटो जोडिएको छ । उपचारका लागि पैसा अभाव भएकै कारण यस्ता रोगीहरू स्वास्थ्य संस्थाको पहुँचबाट धेरै टाढा रहने गरेका छन् ।  

सरकारले कुष्‍ठरोग निवारणमा वार्षिक १५ देखि १६ करोड रुपैयाँ खर्च गर्ने गरेको पनि बास्कोटा बताउँछन् । १५/१६ करोड रकम तीनै तहका सरकारले कुष्ठरोग निवारणको लागि परिचालन गरिरहेका छन् । बास्कोटा भने यो रकम यो रोग निवारणका लागि पर्याप्त नभएको बताउँछन् । 

यो रोग लागिहाले पनि रोगीले सहजै उपचार पाउने अवस्था छैन । स्थानीय स्तरमा भएका स्वास्थ्य चौकीमा तालिम प्राप्‍त स्वास्थ्यकर्मी छैनन् । सीमित तालिमप्राप्‍त स्वास्थ्यकर्मीहरू अवकाश भइसकेकाले बिरामीको उपचार गर्न नसकेको बास्कोटाले जानकारी दिए ।

'नयाँ-नयाँ स्वास्थ्यकर्मीलाई तालिम दिन सकिएको छैन,' उनले भने, 'अन्धविश्‍वास मुख्य कारण हो । कतिपय अवस्थामा  रोग लागेपछि समयमा उपचार गर्न जाँदैनन् र समाजमा खुल्दैनन् ।'

के हो कुष्ठरोग ? 

कुष्ठरोग एक प्रकारको सानो आँखाले देख्न नसकिने माइक्रो ब्याकटोरिया लिप्रे नामको किटाणुबाट छाला तथा नशामा असर पार्ने एक किसिमको रोग हो । यसले मुख्यरुपमा छाला तथा नशामा असर गर्छ । समयमै उपचार गरिएन भने अरु अंगमा असर पुग्छ ।  लामो समयसम्म उपचार भएन भने अंगभंग भएर अपांगता समेत गराउनसक्छ । कुष्‍ठरोग श्वासप्रश्वासको माध्यमबाट सर्छ ।

उपचार नगरेका कुष्ठ रोगीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वास–प्रश्वासको माध्यमबाट यो रोग सर्नसक्छ । रोगका दृष्टिकोणले कुष्ठरोगलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ । कम कीटाणु भएको ‘प्यासी ब्यासेलरी’ र अर्को, बढी कीटाणु भएको ‘मल्टी ब्यासिलटी’ । 

कुष्‍ठ रोगको लक्षण के हो

छालामा रातो, फुस्रो दाग देखा पर्ने, झमझम गर्ने, छुँदा/चिमोट्दा थाहा नहुने, बाहिरी सतहका स्नायु सुन्निनु, हात तथा खुट्टामा नदुख्ने घाउ देखापर्ने, आगोले पोल्दासमेत थाहा नहुने, रौँहरू झर्ने कुष्ठरोगका लक्षण हुन् ।  यो रोग लागेपछि कानका लोती बाक्लो हुने, नसा दुख्ने, हातखुट्टा झमझम गर्ने गर्दछन् ।

निशुल्क उपचार 

यो रोग लागिहाले सरकारले औषधोपचार निशुल्क गर्ने गरेको छ । सरकारले निशुल्क उपचार गर्नेबारे जानकारी नभएकै कारण पनि केही रोगीहरूले रोग लुकाएर बस्दा थप जोखिम बढिरहेको छ । औषधिको सेवन गर्दा साधारण वा गम्भीर असर देखापरेमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ । यो रोग सरेको २ देखि ५ वर्षभित्रमा यसका लक्षण देखिन्छन् । ‘मल्टी ब्यासिलटी’ कुष्ठ रोगीले १२ महिना औषधि खानुपर्ने हुन्छ । ‘प्यासी ब्यासेलरी’ कुष्ठरोगीले ६ महिनासम्म औषधि खानुपर्छ । अंगभंगका भएकाको शल्यक्रिया पनि स्वास्थ्य संस्थामा निःशुल्क हुन्छ ।

यो वर्ष ‘कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता, आत्मसम्मानको लागि ऐक्यबद्धता’ भन्‍ने नारासहित मनाइएको छ । यो दिवस जनवरी महिनाको अन्तिम आइतबार मनाउने गरिएको छ ।

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल