सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

दार्चुलामा हिमपात : हिउँ पगालेर खानेपानी

फाइल फाेटाे

दार्चुला- जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनुपरेको छ ।

एक सुरक्षाकर्मीले कष्टकर जीवन बिताउनुपरेको बताएका छन् ।  “सशस्त्र प्रहरी गुल्म बाहिर निस्कन सकिने अवस्था छैन”, ती सुरक्षाकर्मीले भने, “हिउँ पग्लाएर पानी खाएर बसेका छौँ, पानी भर्न जान पनि दुई फिट बढी हिउँ जमेको छ, पानीको पाइप पूरै बरफ बनेको छ, पानी खाने विकल्प नभएपछि हिउँ पग्लाएर पानी बनाउँदै पिउँछौँ ।”    
    
चिसो अत्यधिक बढेका कारण बिहानदेखि रातिसम्म आगो तापेर दैनिकी बिताउनुपरेको छ । अहिले यो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँमा एक जना चौकीदार मात्रै छन् । पहिल्यैकै हिउँ पग्लिएको थिएन, थप हिउँ परेपछि जाडो ह्वात्तै बढेको छ । गाउँसम्मै बाक्लो हिमपात भएपछि चारैतिर सेताम्य भएको छ । अहिले सशस्त्र बसेको गागाबाट छाङ्गरुसम्म जानै मुस्किलको अवस्था आएको बताइएको छ । यस क्षेत्रमा गत वर्षदेखि सशस्त्र प्रहरी १२ महिनै बस्न थालेको हो । गत वर्ष पनि यो क्षेत्रमा सशस्त्र प्रहरीले हिउँ पग्लाएरै पानीको प्रयोग गर्नुपरेको थियो ।    
    
अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी बजार क्षेत्रसम्म भारी हिमपात भएको छ । हिउँका कारण विद्यालय ढाकिएका छन् । खण्डेश्वरीभन्दा माथिल्लो बस्तीमा एक फिट बढी हिउँ जमेको स्थानीयवासी पोखरसिंह रोकायाले जानकारी दिए । यस क्षेत्रमा स्थानीयवासीलाई घर बाहिर निस्कनसमेत समस्या भएको छ । स्थानीयवासीले हिउँ पग्लाएर पानी खानुपर्ने अवस्था आएको उनले बताए।