सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

जस्तापाताको घरमा शुक्लाफाँटका अतिविपन्न परिवार

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाका अतिविपन्न परिवारका घरका खरका छाना हटाएर जस्तापाता राख्ने कार्य सुरु गरिएको छ । जस्तापाता राख्नका लागि सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत छनोटमा परेका परिवारलाई नगरपालिकाले पहिलो किस्ताको रकम उपलब्ध गराइएको छ ।    
    
नगरपालिकामा सञ्चालन भइरहेको सुरक्षित नागरिक आवास कार्यक्रमका लागि २५७ जनाले आवेदन दिएकामा १११ जना छनोटमा परेका छन् । सुरक्षित नागरिक आवास कार्यक्रमका लागि वडा नं १ का १०, २ का १०, ३ का १०, ४ का नौ, ५ का नौ, ६ का तीन, ७ का १०, ८ का १०, ९ का आठ, १० का १०, ११ का १० र १२ का १० परिवार छनोटमा परेका छन् ।    
    
छनोटमा परेका परिवारलाई घरको छानामा जस्तापाता राख्नका लागि पहिलो किस्ताका रूपमा रु ३० हजार रकम बैंक खातामार्फत उपलव्ध गराइएको नगरपालिकाका सूचना अधिकारी मोहनराज फुलाराले बताए।    
    
 “घरको छानामा पराल, खर, स्याउला, टायललगायतका आगो, पानी तथा हावाहुरीबाट सहजै प्रभावित हुनसक्ने परिवारको छनोट गरी रकम उपलब्ध गराएका छौँ”, उनले भने, “छनोट भएका लाभग्राहीले नगरपालिकाले सिफारिस गरेको बैंकमा खाता खोलेपछि अनुदान सम्झौता भइसकेका लाभग्राहीलाई जस्तापाता, काठलगायतको निर्माण सामग्री खरिद गर्न अनुदान रकमको पहिलो किस्ता उपलव्ध गराइएको छ ।”    
    
सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि, २०७७ अनुसार अनुदान उपलब्ध गराउँदा नगरपालिकासँग सम्झौता भएपछि पहिलो किस्तावापत साठी प्रतिशत रकम उपलब्ध गराइने व्यवस्था छ ।     
    
“लाभग्राहीले सो रकम जस्तापाता र काठलगायतका सामग्री खरिद गरी निर्माण अघि बढाउनका लागि खर्च गर्नुपर्ने हुन्छ”, सूचना अधिकारी फुलाराले भने, “प्राप्त पहिलो किस्ताको रकमबाट जस्तापाता र काठलगायतको सामग्री खरिद गरी निर्माण सम्पन्न भएको भनी नगरपालिकाका प्राविधिकले कार्यविधिको अनुसूची ३ बमोजिमको प्राविधिक प्रतिवेदनसहित गरेको सिफारिसका आधारमा लाभग्राहीलाई दोस्रो तथा अन्तिम किस्तावापतको रु २० हजार (चालिस प्रतिशत) अनुदान रकम उपलब्ध गराइने छ ।”    
    
प्राविधिकबाट अनुसूची ३ बमोजिम प्रतिवेदन पेश भई नगरपालिकाले प्रमाणित गरेपछि निर्माणकार्य सम्पन्न भएको मानिने छ । “संविधानको मौलिक हकअन्तर्गतको धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने छ भन्ने उल्लेख गरिएको छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, “नगरपालिकामा बसोबास गर्ने सबै नागरिकसँग सुरक्षित आवासको व्यवस्थाका लागि कार्य अगाडि बढाएका छौँ ।