१० वर्ष रित्तिएको घर फर्केपछि...

बागलुङ - गाउँको घर रुग्ण र बारी बञ्जर भइसकेको थियो । कुशल राना परिवारसहित काठमाडौँ बस्थे । भविष्य खोज्दै १० वर्षअघि सहर परेका थिए । उनी काठमाडौँ छँदै राना कतार पुगे । त्यहाँ टिक्न नसकेपछि दुई वर्षमै फर्किए । चार वर्ष म्याग्दीको जलविद्युत् परियोजनामा काम गरे । त्यसपछि भने रानाले जागिरे मनस्थिति त्यागे ।
जैमिनी नगरपालिका–७ जैदी बोरका रानाले गाउँ फर्कने निधो गरे । १० वर्षपछि थातथलो फिर्दा घर बस्न लायक थिएन । बारी घाँस र झाडीले ढाकिएको थियो । तैपनि रानाको मन मरेन । आफ्नै जन्मथलोमा केही गरि छाड्ने हुटहुटीले रानालाई घच्घचाइरह्यो । जीर्ण बनेको घरगोठ सिँगारे। बाँझो पल्टिएको बारीलाई हराभरा पारे । अब कतै नभौँतारिई गाउँमै आयआर्जनको बाटो समात्ने अठोट उनले लिए । त्यसको पहिलो पाइला रानाले बाख्रापालनबाट चाले । ३७ वर्षीय रानाले व्यावसायिक रुपमा बाख्रापालन थालेको वर्ष दिन बित्यो । उनले चलाएको ‘राना कृषि तथा पशुपछी फार्म’ मा अहिले २२ वटा बोयर जातका बाख्रा छन् ।
तीन लाख पर्ने ९० किलोको बोका पनि रानाको फार्ममा छ । १६ महिने त्यो बोकालाई अर्को वर्षसम्म पालेर रु चार लाखसम्म पार्ने योजनामा छन् उनी । रानाले उक्त बोका रायडाँडाका किसान चिरञ्जीवी केसीकोबाट गतवर्ष किनेर ल्याएका हुन् । प्रजनन र नश्ल सुधारका लागि बोका पालेको उनको भनाइ छ । फार्ममा बोयर बोका र स्थानीय खरी जातका पाठीबाट नश्ल सुधार गर्ने गरिएको छ । बाहिरका किसानले पाठीलाई प्रजननका लागि बोकासँग ल्याउँदा रु एक हजार ५०० सम्म शुल्क तिर्छन् ।
खोर निर्माणदेखि फार्मको संरचना तयार पार्दा अहिलेसम्म रु. १० लाख लगानी भइसकेको रानाले बताए । 'अहिले लगानीकै चरणमा छु, ऋणधन गरेर भएपनि फार्मलाई अझ विस्तार गर्ने सोचमा छु,' उनले भने, 'आउँदो वर्षदेखि बल्ल आम्दानी आउन सुरु होला ।' बोयर बाख्राको बजार माग र मूल्य बढी छ । व्यावसायिक पालनका लागि पाठापाठीको पनि उत्तिकै खोजी हुन्छ ।
रानाले बोयरपालनमा जिल्लाकै ‘नमूना फार्म’ बनाउने लक्ष्य लिएको बताए । घर वरपरको बारी र खाली जग्गामा उनले बाख्रपालनलाई चाहिने उन्नत घाँस खेती गरेका छन् । जैमिनी नगरपालिकाका पशु प्राविधिक नेत्र आचार्यका अनुसार बोयरको तौल र शारीरिक वृद्धि छिटो हुन्छ । 'बोयर बाख्रा दिनमा एक सय ५० देखि दुई सय ग्रामसम्म बढ्छ, दुई वर्षमा एक सय २० किलोसम्म हुन्छ' उनले भने । पशु प्राविधिक आचार्यले पहाडी हावापानीमा बोयर जातको बाख्रापालन फस्टाउने गरेको बताए। बाख्रापालक किसानलाई खोर सुधार, घाँस, औषधिलगायतमा अनुदान दिएर नगरपालिकाले सघाउँदै आएको उनको भनाइ छ ।
जैदीको धवलागिरि कृषि सहकारीमार्फत व्यावसायिक बाख्रापालनमा किसानले सहायता पाउँदै आएका छन् । सहकारीले गत वर्ष तीनवटा बोयर जातका बोका गाउँमा वितरण गरेको थियो । रानाको फार्मले पनि यो वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत रु एक लाख अनुदान पाएको छ । धन कमाउने आशमा धैरेतिर हण्डर खाएपछि घर फर्केर आफैँ उद्यम गर्न कस्सिनुभएका रानाको मेहेनत देखेर छरछिमेकी पनि दङ्ग छन् । सहर छिर्नुभएका उनी यसरी गाउँ फर्कनुहोला र झण्डै बिर्सिसकेको घरबारी सम्हाल्नुहोला भनेर धेरैले पत्याएका थिएनन् । रानाका लागि भने सहरको सङ्घर्ष त्यति सजिलो थिएन । रासस

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया