सोमबार १२ जेठ, २०८२
Monday, May 26, 2025

यी हुन् ऋण दिने क्षमता राख्‍ने र सस्तो ब्याजदर भएका बैंक

काठमाडौँ– लगानीयोग्य पुँजी अभावको सामना गरिरहेका बैंकहरूको निक्षेप संकलनको लागत बढेसँगै उनीहरूले कर्जाको ब्याजदर पनि बढाएका छन् । वाणिज्य बैंकहरूले प्रकाशन गरेको अप्रकाशित वित्तीय विवरण अनुसार, अधिकांश बैंकले आधार दर बढाएका छन् । 

चालु आर्थिक वर्षकाे पहिलो त्रैमासमा कर्जा लगानी तीव्र बढाएका र सम्भावित तरलता संकटलाई मध्यनजर गरेका केही वाणिज्य बैंकले भने पहिलो त्रैमासमा पनि निक्षेपमा राम्रो ब्याज दिएर निक्षेप आकर्षण गरेका थिए । यसअघि नै निक्षेप संकलनमा प्रतिस्पर्धीभन्दा राम्रो ब्याजदर ‘अफर’ गरेका केही बैंकले दोस्रो त्रैमासमा आधार दर घटाउन पनि सफल भएका छन् । 

बैंक अफ काठमाण्डू, मेगा बैंकले आधार दर सीमान्त घटाएका पनि छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूमध्ये ब्याजदर सबैभन्दा सस्तो भएका बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् । यी मध्ये नेपाल बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको कर्जा– निक्षेप अनुपात उच्च रहेकाले कर्जा प्रवाह गर्ने स्पेस कम छ । 

यसमध्ये इन्भेष्टमेन्ट बैंकको कर्जा–निक्षेप अनुपात बैंकिङ्ग क्षेत्रमै उच्च ९५.६९ प्रतिशत छ । यससहित १० बैंकको कर्जा–निक्षेप अनुपात ९० प्रतिशतको नियामकीय सीमा नाघेको छ । कुमारी, कृषि विकास, नेपाल एसबीआई, प्राइम, मेगा, हिमालयन, बैंक अफ काठमाण्डू, ग्लोबल आईएमई र एनसीसी बैंकको कर्जा–निक्षेप अनुपात ९० प्रतिशतभन्दा धेरै छ । 

 नेपाल राष्ट्र बैंकले कर्जा–निक्षेप अनुपातका लागि तोकिएको ९० प्रतिशतको सीमा असारसम्म पुर्‍याए हुने व्यवस्था गरेको छ । ऋण दिने क्षमता र सस्तो ब्याजदरका हिसाबले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि छ । ऋण दिन कुशन भएका अन्य बैंकहरूमा प्रभु, एनआईसी एसिया, सानिमा र स्ट्याण्डर्ड चार्टर्ड बैंक छन् । 

त्यस्तै, माछापुछ्रे, एनबी बैंक, सिद्धार्थ, लक्ष्मी, एनएमबी र सिभिल बैंकले पनि केही ऋण विस्तार गर्ने क्षमता राख्छन् ।