चितवन निकुञ्जमा बाघ सर्वेक्षणको काम सकियो
चितवन- राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ सर्वेक्षणको काम सकिएको छ । एउटै कम्प्लेक्स बनाएर गणना सुरु गरिएको पर्सा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा भने यही माघ तेस्रो साता सकिँदै छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार माघको पहिलो साताबाट पर्साको प्रतापपुरबाहेकका बाँकी सबै क्षेत्र, पर्सा, बारा र रौतहट डिभिजन वन कार्यालय क्षेत्रमा सर्वेक्षण भइरहेको छ ।
ती क्षेत्रमा तीन सय जोडी क्यामेरा राखिएको उनले जानकारी दिए । यही माघ २० गतेसम्ममा सो क्षेत्रमा पनि सर्वेक्षण सम्पन्न हुने छ । ती क्षेत्र सम्पन्न भएसँगै यहाँको क्यामेरा लगेर शुक्लाफाँटा र लालझाडी क्षेत्रमा सर्वेक्षण गरिने र सबै क्षेत्रको सर्वेक्षणपछि तथ्याकंको काम गरिने जनाइएको छ ।
चितवन र पर्सालाई तीन ब्लक बनाएर सो सर्वेक्षण गत मङ्सिर १९ गते चितवनबाट सुरुवात गरिएको हो । पहिलो र दोस्रो ब्लकमा ‘क्यामेरा ट्रयापिङ’का काम सम्पन्न भएसँगै तेस्रो ब्लकमा काम थालिएको हो ।
क्यामेरा ट्रयापिङको विधिबाट बाघ सर्वेक्षण गरिएको हो । प्रत्येक चार वर्ग किलोमिटर क्षेत्रफललाई एउटा ग्रिड मानेर एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गरेर सर्वेक्षण गरिएको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सर्वेक्षणमा क्यामेरा ट्रयाप, रेञ्ज फाइण्डर, जिपीएस र रेकर्ड फर्मलगायतका सामग्री प्रयोग भएका छन् ।
अहिले क्यामेराले संकलन गरेका फोटो ल्यापटप र कम्युटरमा जम्मा गर्ने काम भइरहेको छ । तीनवटै ब्लकमा सर्वेक्षणको काम सकिएलगत्तै क्यामेराबाट खिचिएका फोटो एकै ठाउँमा जम्मा गरी विज्ञसहितका टोलीले सफ्टवेयरको माध्यमबाट अन्तिम नतिजा निकाल्ने उनले जानकारी दिए ।
सर्वेक्षण अन्तर्गत बर्दिया र बाँके ब्लकमा मंसिर २९ गतेबाट काम थालिएको छ भने शुक्लाफाँटा र लालझाडी क्षेत्रमा यहाँको दोस्रो ब्लकको काम सकिएपछि यही क्यामेरा प्रयोग गरेर सर्वेक्षण थालिने जनाइएको छ ।
यसका लागि करिब रु चार करोड खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए । बाघ सर्वेक्षणका लागि जमिनबाट करिब ४५ देखि ६० सेन्टिमिटरको उचाइमा स्वचालित क्यामेरा जडान गरिन्छ । क्यामेरा जडान भएको क्षेत्रबाट बाघ हिँडेको अवस्थामा स्वचालित क्यामेराले बाघको फोटो खिच्ने गर्दछ ।
तस्वीर अध्ययनपछि जुलाई २९ विश्व बाघ दिवसका अवसरमा तथ्याकं सार्वजनिक गरिने योजना रहेको छ । सन् २००९ देखि राष्ट्रियरूपमा नै बाघको सर्वेक्षण सुरुआत गरिएको थियो ।
हालसम्मको नतिजालाई हेर्दा नेपालमा सन् १९९५÷९६ मा ९३ देखि ९७ वटासम्म बयस्क बाघ रहेको अनुमान गरिएको थियो ।
सन् २००९ मा १२१, सन् २०१३ मा १९८ र सन् २०१८ को सर्वेक्षणअनुसार २३५ वटा बयस्क बाघ रहेको अनुमान गरिएको थियोे । सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए ।
त्यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो संख्या बढेको अनुमान छ ।
बाघ सर्वेक्षणको वन तथा वातावरणमन्त्री रामसाहयप्रसाद यादवले स्वचालित क्यामेरा सञ्चालन गरी शुभारम्भ गर्नुभएको थियो । नेपालका चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा बाघ पाइन्छ । ती क्षेत्रमा गणना गर्न सुरु गरिएको हो । रासस

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया