आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

‘पत्रकार एलबी विश्वकर्माको उपचारमा किन लापरबाही गरेको ?’

फोटो : बालकृष्ण बस्नेतको फेसबुकबाट

काठमाडौँ : बुधबार आर्थिक अभावमा ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरबाही गरेको विषयमा प्रेस काउन्सिलले सिभिल अस्पतालसँग सोधपुछ गरेको छ । शुक्रबार सिभिल अस्पताल पुगेर प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य ठाकुर बेल्बासे लगायत टोलीले पत्रकार एलबीको मृत्युको घटनामा अस्पतालको चरम लापरबाही देखिएकाले सत्यतथ्य के हो ? भन्ने विषयमा यतार्थ जानकारी दिन माग गरेको हाे ।

‘जम्माजम्मी झण्डै १००० रुपैयाँ नपुगेर ज्यान गएको भन्ने समाचार समेत आइसकेका छन् । यो भनेको सिधा सिधा लापरबाही देखियो,’ प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सिभिल अस्पतालका प्रशासकीय प्रमुख अनुजजंग रायमाझीसँग सोधे, ‘पत्रकारको ज्यानै गइसक्दा पनि अस्पतालले केही कदम चालेको देखिएन, किन हो ?’

साथै अध्यक्ष बस्नेतले पत्रकार एलबीको मृत्युमा अस्पतालको लापरबाहीबारे गम्भीर प्रश्न उठेको भन्दै तत्काल छानबिन समिति गठन गर्न सिभिल अस्पताल प्रशासनसँग माग गरे । जवाफमा अस्पताल प्र्रशासन प्रमुख रायमाझीले यसबारेमा अस्पतालका आन्तरिक विभागसँग जानकारी लिने काम भइरहेकाले वास्तविकता पत्ता लगाउने बताए ।

‘यसबारे हामीले पनि आन्तरिक रुपमा बुझिरहेका छौँ,’ उनले प्रेस काउन्सिलको टोलीसँग भने, ‘अब आवश्यक परे छानबिन टोली गठन गरेर विस्तृत कुरा बुझ्छौँ ।'