सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

सुन बजारमा देखिएको 'बबल' एक सातामै फुट्यो

काठमाडौं : पछिल्लो एक सातामा सुन बजार तोलामा दुई हजार पाँच सय रुपैयाले बढ्यो । विश्व बजारमा सुनलाई लगानीको सुरक्षित क्षेत्र (सेफ हेवेन) मानिन्छ । अन्य क्षेत्रमा लगानीको सुरक्षा नदेखेपछि सुन बजारमा लगानी गरेर लगानीकर्ताहरू सुरक्षित बस्‍न खोज्छन् ।

अर्थशास्त्रमा यस्तो वृद्धिलाई बबल (फोका) पनि भन्ने गरिन्छ । पानीको छालमा उत्पन्न हुने फोका जसरी फुट्छन्, यस्तो वृद्धि पनि त्यसरी नै फुट्छ भन्ने सैद्धान्तिक मान्यता छ ।

विश्व बजारमा अहिले कोभिड-१९ को प्रभाव लगानीका क्षेत्रमा परेको छ । संकटको समयमा अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरूले सुन बजारलाई नै लगानीको भरपर्दो क्षेत्रको रुपमा कारोबार गरिरहेका छन् । पुस महिनामा प्रत्येक साताको सुरुवाती दिनमा सुन बजारमा देखिने बबल अन्तिममा फुट्दै आइरहेको छ ।

पुस महिनाको सुरुवातदेखि सुन बजार तीव्र उतारचढाव आइरहेको छ । एक महिनाको घटनाक्रमलाई केलाउने हो भने साताको अन्तिमतिरको कारोबार बिहीबार सुनको भाउ घट्ने गरेको छ । साताभर उछाल आउने र बिहीबार घट्ने क्रम दोहोरिएको छ । पुसको सुरुवाती दिनमा सुनको भाउ बढ्यो । तर प्रत्येक साताको बिहीबार सुनको भाउ ९४ हजार १ सय रुपैयाँमा सीमीत रहने गरेको छ । तीव्र उतारचढावका बीच ९४ हजार १ सय रुपैयाँ प्रति तोलालाई सुनको 'स्याचुरेसन' लेबल मान्न सक्ने स्थिती छ ।

गत मंगलबार मात्रै सुनको भाउ प्रति तोला ११ सय रुपैयाँको उच्च वृद्धि भएको थियो । तर बिहीबार सुनको भाउ तोलामै १३ सय रुपैयाँमा घट्यो ।

२०२० मा पनि लगानीको अरु क्षेत्र असुरक्षित देखिएपछि सुनको भाउमा उछाल नै आयो । गत साउन २३ सुनको भाउले कीर्तिमानी उचाइ कायम गरेको थियो । त्यतिबेलामा सुनको भाउ १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो ।  

सुनको भाउ बढ्नुलाई कोरोना भाइरस नै प्रमुख कारण मानिएको छ । विगत हेर्ने हो भने विश्वमा संकटग्रस्त अवस्थामा सुनको भाउ बढ्ने गरेको छ । सन् १९७९ मा थुप्रे युद्ध भए, त्यतिबेला सुनको भाउ १२० प्रतिशतले महंगिएको थियो । सन् २०१४ मा अमेरिकाले सिरियामा आक्रमण गर्दा पनि सुनको भाउ आकाशिएको थियो । यद्यपछि पछि यो पुरानै अवस्थामा फर्कियो । पछिल्लो समय चीन-अमेरिकाबीच व्यापारयुद्ध चलिरहँदा पनि सुनको भाउ बढेको थियो ।
विभिन्न मुलुकले कोभिड-१९ विरुद्धको भ्याक्सिन पत्ता लगाएको घोषणागरेयता सुनको भाउ घटिरहेको छ ।