मालाबारमा गोल रोक्न सिकाउँदै मनीष

काठमाडौँ : आई-लिग भारतीय घरेलु फुटबलको दोस्रो श्रेणीको लिगमा घटुवा भएको धेरै समय भएको छैन । इन्डियन सुपर लिग (आईएसएल)ले पहिलो श्रेणीको दर्जा खोसे पनि आई–लिगको प्रतिस्पर्धाको स्तर घटेको छैन । एसियाली क्लब फुटबलको महत्वपूर्ण प्रतियोगिता एएफसी कपको समूह चरणमा सिधै स्थान बनाउँछन्, आई–लिग जित्ने क्लबले । यसले पनि आई–लिगको स्तर कहाँ छ भनेर प्रस्ट पार्छ ।
नेपालका केही खेलाडीले आई–लिगको अनुभव बटुलेका छन् । यो सूचीमा राष्ट्रिय टिमका कप्तान किरण कुमार लिम्बूदेखि पूर्वकप्तान अनिल गुरुङसम्म छन् । अनि नयाँ पुस्ताका प्रकाश बुढाथोकी र अभिषेक रिजालले पनि आई–लिगको स्वाद चाखिसकेका छन् । हाल इन्डोनेसियाको पहिलो श्रेणीको लिग खेलिरहेका रोहित चन्दले पनि आई–लिगमा आफूलाई स्थापित गरेकै हुन् ।
अहिले आएर भने नेपाली प्रशिक्षक पनि आई–लिगको क्लबसँग जोडिएका छन् । त्यो पनि गत सिजन च्याम्पियन बनेको, गोकुलम केरला फुटबल क्लबसँग । गोलरक्षक प्रशिक्षक मनीष तिम्सिना भारतको मालाबरसमेत भनिने दक्षिणी राज्य केरलाको यो क्लबमा गत गत अगस्टमै पुगेका हुन् । भारतीय लिगमा प्रशिक्षणको मौका पाउने मनीष पहिलो नेपाली हुन् ।
मनीष गोकुलमको प्रशिक्षक बन्ने चाँजोपाँजो मिलाएका हुन् क्लबका मुख्य प्रशिक्षक भिन्सेन्जो अलबेर्टो एनेसले । इटालीका भिन्सेन्जोकै प्रशिक्षणमा गोकुलम गत सिजन पहिलो पटक आई–लिग विजेता बनेको हो । उनै भिन्सेन्जोले मनीषलाई ‘स्काउट’ गरेका हुन् । त्यो पनि लकडाउनको समयमा ।
विश्व फुटबल नै ठप्प रहेका बेला भर्चुअल माध्यममा थुप्रै कोचिङ कोर्स भइरहेका थिए । मनीष पनि लकडाउनको समयमा यस्ता केही कोर्समा सहभागी भए । यस्तै एउटा कोर्स जर्मन बुन्डेसलिगा क्लब अमिर्निया बिलेफेल्डले प्रदान गरेको थियो । यहाँ उनको एसियाली गोलकिपिङ कोचको समूहसँग चिनजान भयो । भिन्सेन्जो तिनैमध्ये एक थिए ।
‘हामी कोचिङकै विविध पक्षमा छलफल गथ्र्यौँ । गोलकिपिङ कोचिङको ढाँचामा पनि कुरा हुन्थ्यो । कुरा हुँदै जाँदा उहाँले सँगै काम गर्ने प्रस्ताव राख्नु भयो । उहाँ नयाँ गोलकिपिङ कोचको खोजीमा हुनुहुँदारहेछ । त्यसपछि उहाँले मेरो नाम क्लब प्रशासनमा प्रस्ताव गर्नु भयो । क्लबले उहाँको प्रस्ताव स्वीकार ग¥यो,’ हालै नेपालबाट केरला पुगेका मनीषले भने ।
मनीषका अनुसार उनलाई मुख्य प्रशिक्षक भिन्सेन्जोकै सिफारिसमा प्रशिक्षण अवसर मिलेको हो । किनभने मनीषले आफ्नो क्षमता देखाउनै पाएका थिएनन् । उनले यस्तो मौका अगस्ट २३ बाट मात्रै पाए । उनी केरलाको क्यालिकट सहर पुगेको भोलिपल्ट नै टिमको अभ्यासमा जोडिए । उनको पहिलो टे«निङ सेसन हेर्न भिन्सेन्जो मात्र होइन क्लब व्यवस्थापनमा रहेका सबै ईएमएस रंगशालामा उपस्थित थिए ।
‘मैले गराएको टे«निङ सेसन सबैलाई चित्त बुझ्यो । त्यसपछि बल्ल मेरो क्लबमा जिम्मेवारी कन्फर्म भयोे,’ मनीष सम्झिन्छन् । केरला आफैँमा फुटबल क्रेजी भारतीय राज्य हो । त्यस्तो भूगोलमा पुगेका मनीषको क्षमताप्रति गोकुलमका समर्थक सुरुमा विश्वस्त थिएनन् । ‘तर गोलरक्षकहरूले राम्रो प्रदर्शन गरेपछि मप्रति समर्थकको विश्वास जाग्यो । पछि त उनीहरू उपहार लिएर भेट्न आउन थाले,’ मनीषले सम्झिए ।
हुन त कोभिड–१९ महामारीका कारण आई–लिगमा पहिलो चरणका खेल मात्रै हुन सकेका छन् । डिसेम्बर २६ मा गोकुलमले नयाँ सिजनको पहिलो खेल खेलेको थियो । जसमा गोकुलमले चर्चिल बदर्सलाई पराजित गरेको थियो । कोलकाताका तीन रंगशाला प्रयोग गरेर ‘बायो बबल’मा लिगको सुरुवात भए पनि दोस्रो चरणका खेल भने हुन सकेनन् । जनवरीको पहिलो साताबाट लिग फेरि सुरु हुने भनिए पनि मैदानमा क्लब र खेलाडी फर्किसकेका छैनन् । यद्यपि मनीष भने क्लबले बोलाएपछि भारत गइसकेका छन् ।
गोकुलमले यसपालि आई–लिगमा जम्मा एक खेल मात्र खेलेको भए पनि प्रि–सिजनमा थुप्रै मैत्रीपूर्ण खेल खैल्यो । अनि डरान्ड कप र आईपी सिल्डलगायतका प्रतियोगितामा पनि भाग लियो । यी सबैमा गरी मनीषले नौ खेलको अनुभव बटुलिसकेका छन् । ‘मलाई लाग्छ मैले आफूलाई गोकुलममा प्रमाणित गरेको छु । नभए त म एक दुई महिनापछि नै नेपाल फर्किसकेको हुने थिएँ,’ मनीष भन्छन् ।
आफ्नो खेल करियरमा मनीष औसत गोलरक्षक थिए । नेपाली घरेलु फुटबलको शीर्ष लिग सहिद स्मारक ए डिभिजिनमा पनि उनले दुई सिजनभन्दा बढी खेलेनन् । उनले आरसीटी र स्वयम्भु क्लबबाट एक–एक सिजन ए डिभिजन लिग खेले । अनि हिमालयन शेर्पा क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ए डिभिजनमा बढुवा हुँदा उनी पनि ती टिमका सदस्य थिए । यी क्लबबाहेक उनले थ्रीस्टार क्लबबाट भारतको सिक्किममा हुने गभनर्स गोल्डकप पनि खेले । अनि भारतकै आसाममा राज्यस्तरको लिगमा पनि केही समय बिताए ।
मनीषको बुझाइमा राम्रा भनिएका खेलाडीले मात्रै प्रशिक्षण करियरमा सफलता हासिल गर्छन् भन्ने होइन । उनको बुझाइसँग असहमत हुने ठाउँ छैन । किनभने युरोपियन क्लब फुटबल वा विश्व फुटबलमा सफलता हासिल गरेका कयौँ प्रशिक्षक आफ्ना जमानाका चर्चित खेलाडी होइनन् । कतिले व्यवसायिक लिग पनि खेलेका थिएनन् । यस्तो तथ्यले मनीषलाई प्रशिक्षणमा लाग्न रोक्ने कुरा भएन । उनी रोकिएनन् पनि ।
बीबीसीमा हुँदा नै मनीषले एएफसीको ‘सी’ प्रशिक्षण लाइसेन्स पाइसकेका थिए । यो प्रमाणपत्रले उनलाई राष्ट्रिय लिगमा खेल्न लागेको मोरङ एघारको सहायक प्रशिक्षक बनायो । विराटनगरको यो क्लबमा एक सिजन काम गरेपछि त्यही सहरका मनीषले आफ्नो प्रशिक्षण करियरलाई अगाडि बढाउने निधो गरे । र, यसका लागि उनले प्रशिक्षणका लागि आवश्यक पर्ने कोचिङ कोर्स गर्न छाडेनन् । फलतः गत वर्ष उनले एएफसी ‘ए’ लाइसेन्स पाए । यसबाहेक उनले गोलरक्षक प्रशिक्षकलाई चहिने कोर्स पनि गरेका छन् । उनले एएफसीकै ‘गोलकिपिङ कोचिङ कोर्स लेभल टु’ पनि गरेका छन् ।
‘लेभल टु’ चाहिँ उनले गोकुलमसँग आबद्ध भइसकेपछि भारतमै गरेका हुन् । त्यो पनि गोकुलमकै सिफारिसमा । भारतको पन्जाबमा सञ्चालन गरिएको सो कोर्सका लागि २४ भारतीय प्रशिक्षकका लागि स्थान थियो । तर गोकुलमकै जोडबलमा मनीषले अवसर पाए ।
आई–लिगलाई मनीषले आफ्नो पाठशाला ठानेका छन् । किनभने उनले कोचिङ कोर्स गर्दा जे सिके, त्यही सिकाइलाई अभ्यास र मैदानमा लागू गर्ने मौका पाइरहेका छन् । योबाहेक उनले गोकुलममा रहेका विदेशी प्रशिक्षकसँग पनि सिकिरहेका छन् । अध्ययनशील स्वभाव भएका मनीष आई–लिग र आईएसएलमा रहेका अरु प्रशिक्षकसँग पनि कुराकानी गर्ने र उनीहरूबाट नयाँ–नयाँ कुरा सिक्ने प्रयास गर्छन् ।
भारतीय फुटबलको बजार फैलिँदै गएकाले नेपाली प्रशिक्षकका लागि प्रशस्त अवसर रहेको मनीषको ठम्याइ छ । यसका लागि नेपाली प्रशिक्षक पनि सक्षम रहेको उनको बुझाइ छ । तर नेपाली प्रशिक्षकहरू मानसिक रुपमा तयार हुने र आफ्नो प्रोफाइल बनाउनेतर्फ लाग्नु पर्ने उनको सुझाव छ । ‘हामी आफूले गराउने अभ्यासको भिडियो इन्टरनेटमा राख्दैनौँ । प्रोफाइल बनाउँदैनौँ । जबकि अहिलेको समयमा सामाजिक सञ्जाल वा युट्युवका भिडियोहरूबाट स्काउटिङ हुन्छ,’ मनीष भन्छन् ।
छोटो बसाइमा पनि मनीषले भारतीय फुटबल निकै व्यवसायिक भएका महसुस गरेका छन् । ‘यहाँको वातावरण नै फरक छ । यहाँ प्रोफेसनल सेटअपको हिस्सा बनेको अनुभव हुन्छ । लगानी ठूलो छ । क्लब व्यवस्थापन फुटबललाई लिएर गम्भिर छन् । अभ्यासदेखि डाइटप्लानसम्ममा उनीहरू सचेत देखिन्छन्,’ मनीषले आफ्नो अनुभव सुनाए । अनुभवी प्रशिक्षकहरू, उनीहरूसँगै आउने फिटनेस प्रशिक्षक, पर्याप्त पूर्वाधार, लगानी, एकेडेमीमार्फत खेलाडीको उत्पादन, लिग संरचना लगायतले भारतीय फुटबलको विकास भइरहेको मनीषको ठम्याइ छ ।
देशको फुटबल बलियो भए मात्रै त्यहाँका खेलाडी र प्रशिक्षकप्रतिको विश्वास बढ्ने मनीषको बुझाइ छ । ‘गोकुलममा सुरुमा मप्रति पनि संशय थियो । नेपालका प्रशिक्षक पनि राम्रा हुन्छन् र भनेको पनि सुनियो । तर नेपालको फुटबलको विकास आशातित रुपमा हुन नसके पनि त्यहाँका खेलाडी र प्रशिक्षकको स्तर उच्चकोटिको छ भनेर प्रमाणित गर्न सकिन्छ,’ मनीष भन्छन् ।
उनी नेपाली फुटबलको भविष्यप्रति भने सकारात्मक छन् । नेपाली फुटबलमा लगानी कम भइरहे पनि प्रतिभाशाली खेलाडी भने उत्पादन भइरहेको दाबी गर्छन्, उनी । नेपाली खेलाडीको प्रतिभाबारे भारतीय फुटबल जानकार रहेको मनीषको भनाइ छ । ‘मलाई नेपाली खेलाडीबारे सोधिन्छ । झन् साफ च्याम्पियनसिपमा गरेको प्रदर्शनका कारण नेपाली खेलाडीबारे राम्रो सन्देश गएको छ,’ मनीषले भने । उनी नेपाली खेलाडीले आई–लिगमा मात्रै होइन आईएसएलमा समेत प्रशस्त मौका पाउन सक्ने बताउँछन् ।
भारतीय फुटबलमा मनीषले देखेको बलिया पक्षहरू मध्येको एक हो, प्रि–सिजन । ‘भारतमा प्रि–सिजन हुन्छ । यो क्लब फुटबलका लागि अत्यावश्यक कुरा हो । प्रि–सिजनमा मैत्रीपूर्ण खेल खेल्दा बलिया विपक्षीसँग खेल्नुपर्छ । हामीले प्रिसिजनमा आईएसएलका टिमसँग खेलेका छौँ । तयारी भएपछि मात्रै लिगमा खेलाडीको प्रदर्शनमा एकरुपता आउँछ,’ मनीषले भने ।
आउँदा केही वर्ष भारतीय फुटबलमै व्यतित गर्ने योजना बनाएका छन्, मनीषले । हुन त व्यवसायिक फुटबलमा कसैले पनि भोलि यही नै हुन्छ भन्न सक्दैन । यो तथ्यप्रति मनीष पनि बेखबर छैनन् । त्यही भएर उनी विदेशका अन्य क्लबसँग पनि सम्पर्कमा छन् । तर एउटा कुरामा चाहिँ उनी निश्चित छन् । त्यो हो, अध्ययन । उनको लक्ष्य हो, फुटबलका थप कोर्स गरिरहने ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया