शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

१० करोड मानिसमा कोभिडको दीर्घकालीन लक्षणः अध्ययन

लन्डन – कोभिड १९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्घकालीन असरबाट विश्वको ठूलो जनसंख्या प्रभावित भएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको एउटा नयाँ अध्ययन अनुसार कोभिडबाट संक्रमितमध्ये ४० प्रतिशत मानिसहरु कोभिडको दीर्धकालीन असरबाट प्रभावित भएका छन् । अर्थात विश्वको १० करोड जनसंख्या कोभिडपछिको समस्याबाट प्रभावित छ ।

अनुसन्धानकर्ताहरुले १७ देशका विभिन्न ४० अध्ययनहरुलाई विश्लेषण गरेका थिए । कोभिड भएर अस्पताल भर्ना भएका व्यक्तिमा दीर्घकालीन कोभिडको सम्भावना ५७ प्रतिशत देखिएको थियो ।

‘कोभिडबाट संकमित विश्वका  कूल २३ करोड ३७ लाखमध्ये १० करोड जना कोभिडपछिको दीर्घकालीन समस्याबाट पीडित छन्,’ अनुसन्धानकर्ताहरुले भनेका छन् ।कोभिडपछिको दीर्घकालीन समस्याले विभिन्न देशको स्वास्थ्य प्रणालीमा दबाब दिनसक्ने उनीहरुले सजग गराएका छन् ।  

कोभिड संक्रमितमध्ये ४९ प्रतिशत महिला र ३७ प्रतिशत पुरुषमा यस्तो समस्या देखिएको छ । अध्ययनअनुसार एशियामा ४९ प्रतिशत, युरोपमा ४४ प्रतिशत र उत्तर अमेरिकामा ३९ प्रतिशतमा कोभिडपछि दीर्घकालीन समस्या देखिएको छ । कोभिड भएको दुई सातापछि पनि एक महिना वा सो भन्दा लामो समयसम्म कोभिडजस्तै लक्षण देखिनुलाई दीर्घकालीन कोभिड मानिन्छ ।

कमजाेरी, सास फेर्न कठिनाई हुनु, पीडा, चिन्ता तथा डिप्रेसन दीर्धकालीन कोभिडका लक्षण हुन् । अनुसन्धानकर्ताहरुले गरेको अध्ययन पीएलओएस मेडिसिन जर्नलमा प्रकाशित छ ।यसैबीच, सेप्टेम्बरमा गरिएको एउटा अध्ययनमा तीन कोभिड बिरामीमध्ये एक जनामा तीनदेखि ६ महिनासम्म कोभिडको लक्षण देखिएको पाइएको थियो ।