आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

सरकारले नै स्थापना गर्नुपर्छ रासायनिक मल कारखाना

फाइल फोटो

नेपाली जनताले सुख पाए भने राजनीतिक दलका नेताहरूको राजनीति पनि सकिन्छ, यिनका आजसम्म गरेका कर्म र व्यवहारले यही भन्छ, यही देखाउँछ । कुनै क्षेत्र त आशलाग्दो अवस्था छ भनी नागरिकले देख्न र भोग्न पाएका छैनन् । त्यही भएर नागरिकमा चरम निराशा छ । विगत २७ वर्ष (ज्ञानेन्द्रको शासनबाहेक) देखि सत्तामा यिनकै हालीमुहाली छ । तैपनि नागरिकको जीवनस्तर र अविकाश उस्ताउस्तै छ । यस्तो किन हुन्छ ? क्षमता नभएर हो वा आफू र आफ्न सात पुस्तासम्मलाई पुग्ने धनोपार्जनको नियत राखेर ? नेताका कर्म र व्यवहारले यही देखाउँछ र उनीहरू आफैँले पुष्टि गर्दै आइरहेका पनि छन् ।

यो मुलुकमा जताततै कमिसन एजेन्ट–बिचौलिया जगजगी छ, चाहे त्यो जलविद्युत्मा होस् वा चाहे रासायनिक मल खरिदमा । एसियाली विकास बैंककै तथ्यांक हेर्ने हो भने दैनिक दुई डलर पनि आम्दानी गर्न नसक्ने नेपालीको संख्या कूल जनसंख्याको ४ प्रतिशत छ । सरकारी कागजमा गरिबीको दर घटेको छ, तर विदेश जाने युवाको संख्या बढ्दो छ । 

नागरिकसँग असुलिएको कररूपी राजस्वले नेता, कर्मचारीको तलब भत्ता (साधारण खर्च) पुग्दैन । तलब खुवाउन पनि आन्तरिक ऋण लिनुपर्ने अवस्था छ । यस्तो तन्नम अर्थतन्त्र भएको देशमा भ्यूटावरहरू ठड्याइन्छन्, इम्बोस्ड नम्बर प्लेट लगाइन्छन् किन ? चार अर्ब ६८ करोड रुपैयाँ खर्चेर किन यो नम्बर लगाउनुपरेको ? यसको सिधा उत्तर छ, कमीसन एजेन्टले यो कार्यक्रम ल्याए, मन्त्रालय सम्हाल्ने मन्त्री र ब्यूरोक्रेसीले सदर गरिदिए । आवश्यकता इम्बोस्ड नम्बर, भ्यूटावर, पानी जहाज हो कि अत्यावश्यक रासायनिक मलको उत्पादन, आपूर्ति र व्यवस्थापन ?

लगानी बोर्डले ग्यासबाट चल्ने रासायनिक मल कारखाना स्थापनासम्बन्धी विधि र प्रक्रियालाई गोप्य रूपले अघि बढाइरहेको छ । ग्यासबाट चल्ने कि बिजुलीबाट चल्ने भन्ने विवाद नै होइन । बिजुलीबाट चल्ने कारखाना स्थापना अहिलेको आवश्यकता हो । तर लगानी बोर्ड आफँैले गरेको अध्ययनले ग्यासबाट चल्ने मल कारखाना सम्भव छैन भन्ने प्रतिवेदन दिएकै हो । 

त्यस्तो प्रतिवेदन बनाउने लगानी बोर्डले एकाएक ग्यासवाला कारखाना स्थापना गर्ने ‘गोप्य गृहकार्य’ गरिरहेछ । ग्यास, जुन नेपालमा बन्दैन, पाइप लाइन बिच्छ्याएर ल्याउनुपर्छ । भारतप्रतिको निर्भरता कम गर्नुपर्ने बेलामा यस्तो निर्भरता अझै बढ्ने गरी लगानी बोर्डले प्रक्रिया अघि बढाएको छ । कमीसन एजेन्टले ल्याएको प्रस्ताव उसले ‘विज्ञ समूहको राय सुझाव बमोजिम’ सदर गर्ने दाउमा छ । यो ठाडै राष्ट्रघाती काम हो । 

जापान सरकारले ३५ वर्षअघि नै नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न आर्थिक तथा प्राविधिक रूपले सम्भव छ भन्ने प्रतिवेदन दिएको थियो । त्यो प्रतिवेदनअनुसार कारखाना स्थापना गर्नतिर राष्ट्रिय अभियानको रूपमा लैजानुपर्नेमा पञ्चायतदेखि गणतन्त्रकालसम्मका सरकारले वास्ता गरेनन् । कारण एउटै थियो र हो– मल खरिदमा वर्षेनि आउने कमिसन । यही कमिसनको लालच र मोहले नेताहरूले मल कारखाना स्थापना गर्न चाहेनन् । कुनै एउटा कृषि मन्त्रीले पहल थाल्यो भने लगानी बोर्डजस्ता निकायले अनेक षड्यन्त्र गरेर असफल तुल्याइदिन्छन् ।

घनश्याम भुसाल कृषिमन्त्री भएको बेला उनले रासायनिक मल कारखाना यहीं स्थापना गर्नुपर्छ भनेर प्रक्रिया अघि बढाए । उनले कृषि सचिवको संयोजकत्वमा समिति बनाए । समितिले बिजुलीबाट बनाउन सकिने प्रतिवेदन दियो । त्यो प्रतिवेदनलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले थप अध्ययन गर्न लगाए । अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री पद्माकुमारी अर्याल र उद्योग मन्त्री लेखराज भट्टको समिति बन्यो । 

यो समितिले बिजुलीबाट होइन ग्यासबाट कारखाना बनाउनुपर्छ भनेर पहिले सचिव संयोजकत्वमा गठित समितिको प्रतिवेदनलाई खारेज गरिदियो । तिनै तीन मन्त्री सम्मिलित प्रतिवेदनलाई लगानी बोर्डका सीइओ सुशील भट्ट कार्यान्वयन गर्न लागिपरेका छन् । यो प्रकरणले कम्युनिष्ट सरकारले कसको हितमा काम गरेको रहेछ भन्ने छर्लंग पारिदिएको छ । ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा रटिरहे ।
 
तर, नेपालका किसान धनी नभईकन समृद्धि आउँदैन र नेपाली सुखी हुँदैनन् भन्ने कुरो बुझेर पनि बुझ पचाए । उनी नेपाली जनताको यस्तो तन्नम आर्थिक अवस्थाप्रति थोरै मात्रा भए पनि माया थियो भने सत्ता सम्हाल्नेबित्तिकै रासायनिक मल स्वदेशमा स्थापना गर्नतिर लाग्थे । अहिलेको गठबन्धन सरकार पनि ओली मार्गमै हिँडिरहेको छ । अर्थात् देश र जनताका लागि यो सरकारले ६ महिना बितिसक्दा पनि केही आशाको किरण सञ्चार गर्न सकेन । यसको ध्यान पनि विगतका सरकारकोजस्तै कमिसन र नचाहिंदा काममा केन्द्रित देखिन्छ ।

हामी भारतप्रति शतप्रतिशत निर्भर छौँ । यो निर्भरता अन्त्य हुनैपर्छ । यसका लागि सर्वप्रथम सरकार र सरकारमा बस्नेहरू अनि उच्च तहका कर्मचारीहरूमा असल नियत हुनुपर्छ । यसैको अभावमा विगत ७० वर्षदेखि नेपाली जनताले परिवर्तन खोजेका हुन् । सानो कुराबाट परिवर्तन गर्न सकिन्छ ।

रासायनिक मल कारखाना स्थापना हुँदा हजारौँले रोजगारी पाउने, किसानले समयमै मलखाद प्राप्त गरी उत्पादन र उत्पादकत्व बढ्ने, खाद्यान्न तथा तरकारी आयात कम हुने वा रोकिने, अमेरिकी डलर स्वदेशमै रहिरहने, स्वदेशको खेर गइरहने बिजुली खपत हुनेलगायत यावत् फाइदा छन् ।

ग्यासभन्दा बिजुली महँगो पर्ने देखाएर कमीसन एजेन्ट पोसेर मुलुकका किसानलाई मार्नु भनेको जघन्य अपराध हो । महँगो नै भए पनि राज्यले गर्नुपर्छ न कि निजी क्षेत्रले । लगानी बोर्डले जुन अध्ययन गरिरहेको भनेको छ, त्यो आफँैमा विवादास्पद छ । लगानी बोर्डले निजी क्षेत्रलाई सहजीकरण गर्ने हो, सरकारलाई होइन । रासायनिक मलमा निजी क्षेत्र आउँदैन, राज्य नै लाग्नुपर्छ ।

तसर्थ, देउवा सरकारले कृषि सचिवको प्रतिवेदन अनुसार कारखाना स्थापना गर्न विश्वविद्यालयका प्राध्यापकहरू, प्राधिकरण र उसको निवृत्त इन्जिनियर, नास्ट, नार्क लगायत सबैसँग परमशक्ष् गरी प्रक्रिया शुभारम्भ गरी हाल्नुपर्छ ।