मुक्तिनाथको हुटहुटीले ‘ट्रेकिङ गाइड’

पोखरा – सीता राई (४०) को आधाआधि उमेर ट्रेकिङ क्षेत्रमै बित्यो । २० वर्षको उमेरमा पोखरा झरेकी उनको जीवनमा अफ सिजन थिएन । पाहुना लिएर उकालीओरालीमै दैनिकी बित्थ्यो । आफू पालिन चाहिने पैसा उनले ट्रेकिङ गाइड (पथप्रदर्शक) भएरै कमाएकी थिइन् । आउँदा दिनलाई सोचेर पैसाको जोहोसमेत गरेकी थिइन् । बचेको पैसा गएको २ वर्षदेखिको कोरोना महामारीमा खर्च गरिन् । त्यतिबेला उनलाई साह्रै गाह्रो बनायो ।
नेपालको पूर्वी जिल्ला सोलुखुम्बुको माप्या दुधकोशी गाउँपालिका ४ की सीताको घुम्ने रहर सानैदेखिको हो । भलिबल राम्रै खेल्ने उनी खेल्दै घुम्दै गाउँ वरपरका कांगु, रातनाङे, सल्लेरीसम्म पुग्ने गर्थिन् । त्यसै माथि गाउँकै दाइहरुले ट्रेकिङबारे गफ गर्थे । उनीहरुको गफ सुन्दै मन फुरुंग हुन्थ्यो । मुक्तिनाथको ट्रेकिङका कुराले उनमा झनै उत्सुकता जगायो । त्यही दिनदेखि उनको मानसपटलमा मुक्तिनाथले डेरा जमायो । जतिबेला उनी स्कुल जीवनमै थिइन् । जब एसएलसी दिइन्, मुक्तिनाथ पुग्ने हुटहुटीलै अझै तरंगित बनिन् । दाइहरुसँगै ट्रेकिङ गर्दै मुस्ताङ पुग्ने सोच बनाएरै काठमाडौं हानिइन् । त्यहाँबाट पश्चिमको तीर्थस्थल पुग्न अझै समय लाग्ने भयो । त्यति नै बेला दाइ नरबहादुर राईले पोखरामा रहेको थ्री सिस्टर्स एडभेन्चर ट्रेकिङ कम्पनीसँग घुलमिल बनाइदिए । त्यसपछि सन् २००२ जनवरीमा पर्यटकीय नगरी पोखरा आइन् ।
थ्री सिस्टर्समा १ महिनाको अभ्यासले उनमा आत्मविश्वास पलायो । तर त्यसबेला ट्रेकिङमा महिलाको उपस्थित कमै हुन्थ्यो । महिलालाई पाहुना लिएर हिँड्नु चुनौतीकै कुरो थियो । त्यहीमाथि सशस्त्र द्वन्द्वले निम्त्याएको संकटकाल । एकातिर चुनौती । अर्कोतिर मुक्तिनाथको तिर्खा । अन्ततः हिम्मत जुटाएरै छोडिन् । पाहुनाको भारी बोकेर लागिन् म्याग्दी पुन हिल ट्रेक । त्यसलगत्तै दोस्रो पटक पथप्रदर्शक भएर तिलिचो पुगिन् । मनाङबाट फर्किए लगत्तै पुनः त्यही रुटबाट थोरङ्ला पास गरिन् । मनाङबाट मुस्ताङ टेकेपछि उनको सपना साकार भयो । १५/१६ वर्षकी हुँदा सुनेको मुक्तिनाथ उमेरले २२ पुगेपछि टेकिन् । मुक्तिनाथको प्यासले ट्रेकिङ गाइड बनेकी उनी तिर्खा मेटिँदासम्म पथ प्रदर्शकमा भिजिसकेकी थिइन् । आफ्नो सपना पुरा हुँदासम्म उनलाई ‘ट्रेकिङ गाइड’ पेसाले मन तानिसकेको थियो । त्यसपछि उनी यतै रमाएकी छिन् ।
ट्रेकिङको समयमा उनले अनेकन समस्या झेलेको सुनाइन् । प्राकृतिकदेखि मानवीय चुनौती उत्तिकै । प्राकृति जितेर सकिनन् तर मानवीय हर्कतलाई जितेरै हिडेको उनको अनुभव छ । ‘प्रकृतिलाई त जितेर सकिने कुरा भएन तर मान्छेबाट हुने समस्याबाट कहिल्यै डराइन्,’ उनले भनिन्, ‘केटाहरुले जिस्काउने त कति हुन्थ्यो हुन्थ्यो । हदै गर्न लाग्यो भने कुटेर पनि हिँडेकी छु ।’ अनेकखालका हन्डरठक्कर खाँदै सुरु भएको पाहुना घुमाउने उनको यात्रा अचेल दैनिकी जस्तै बनेको छ । तर कोरोना महामारीले रोजीरोटी नै खोसिदियो । पछिल्लो समय उनी फुर्सदिली बनेकी छन् । हालसम्म एकल जीवन जिएकी उनले बुढेसकाल र बिमारीको बखत खर्च गरौंला भनेर जोहो गरेको पैसा कोरोनामै सकिएको गुनासो गरिन् । कामै नहुँदा पनि थ्री सिस्टर्सले तलब दिइरहेकाले राहत मिलेको उनी सुनाउँछिन् । कोरोना त्रास कम हुँदै गएकाले भने अनुहारमा कान्ति छाउन थालेको छ । ‘यतिकासम्म दुख गरेर बचाएको पैसा कोरोनाको कारण सकियो । सरकारबाट केही आशा छैन,’ तैपनि हिम्मत जुटाउँदै उनले भनिन्, ‘अब ज्यान दह्रो हुँदासम्म यही काम गर्छु । हेरौं कहिलेसम्म सकिन्छ ।’

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया