शिक्षक अस्पताल भरतपुरमा प्रस्ताव

चितवन - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बनाउन महानगरले प्रस्ताव गरेको छ । महानगरपालिकाको वडा नम्बर १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउन महानगर तयार भएको हो । मन्त्रालयले पूर्वसम्भाव्यता अध्ययन र जग्गाको पहिचान गर्न समिति बनाएर काम अघि बढाएको थियो । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार भगवानपुरमा आठ बिघा, १६ कट्ठा जग्गा उपलब्ध गराउन आवश्यक निर्णय गरी आज आवश्यक कागजपत्र मन्त्रालयमा पेस गरिँदै छ । महानगरपालिकाले प्रमुख जिल्ला अधिकारीसहित जिम्मेबार सरोकारवालासमेत बसेर सो जग्गा शिक्षक अस्पतालका लागि उपलब्ध गराउने सहमति गरेको हो । सहमतिपत्रमा शिक्षक अस्पताल स्थापनाका लागि महानगरपालिकाको सहमति प्रदान गर्ने निर्णय भएको जानकारी गराइएको छ ।
सहमतिपत्रसँगै सार्वजनिक जग्गाको फिल्ड बुक र नक्सा, प्राविधिक (नापी कर्मचारी)को स्थलगत नापजाँच प्रतिवेदन, वडा नम्बर १५ को सहमतिपत्र र महानगरपालिकाको निर्णय प्रतिलिपिसहित पेस गरिने दाहालले जानकारी दिए । देशकै केन्द्र भागमा रहेकाले चितवन उपयुक्त हुने सरोकारवालाको भनाइ छ । महानगर प्रमुख दाहालले भने, 'शिक्षामन्त्री ज्यूले राजधानी पछिको मेडिकल सिटी र देशको मध्यभागमा पर्ने भएकाले भरतपुर उपयुक्त हुन्छ भन्नेमा हुनुहुन्छ ।' स्वयम् मन्त्री र सरोकारवालाले पनि भरतपुरलाई उपयुक्त ठानेका छन् ।
महानगरपालिकामा शिक्षक अस्पताल बनेपछि यो शिक्षाण अस्पताल हुने उनको भनाइ छ । यसले यहाँको समग्र विकासमा समेत सहयोग पुग्ने उनी बताउँछन् । महानगरले प्रस्ताव गरेको क्षेत्र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र हो । स्वयम् दाहालसमेत भरतपुरमा शिक्षक अस्पताल बनाउने कुरामा सकारात्मक भएर लाग्नुभएको महानगर प्रमुख दाहालले जानकारी दिए ।
भरतपुरमा क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, सङ्घीय सरकारी अस्पतालको सुविधा भएकाले काठमाडौँ बाहिर आउँदै गर्दा भरतपुरजस्तो उपयुक्त ठाउँ अन्यत्र नहुने उपप्रमुख पार्वती शाह ठकुरीले बताए । 'सबै हिसाबले शिक्षक अस्पताल भरतपुरमा उपयुक्त हुन्छ,' उनले भने । शिक्षा मन्त्रालयले डा विमल चालिसेको संयोजकत्वमा पूर्वसम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति बनाएको थियो । समितिका सदस्य शिक्षक महासङ्घका सहसंयोजक पूर्णप्रसाद दवाडीले समितिले हेरेका अन्य क्षेत्रका तुलनामा भरतपुरको जग्गा उपयुक्त रहेको बताउनुभयो । समितिले चितवनसँगै मकवानपुरको चित्लाङ र भक्तपुरको जगती र गुन्डुलाई सम्भावित भन्दै प्रस्ताव गर्दैछ । केही दिनमा प्रतिवेदन बुझाउने तयारीमा समिति रहेको उनले जानकारी दिए । समितिले नवलपरासी, मकवानपुर, ललितपुर, काठमाडौँमा समेत जग्गा हेरेको थियो ।
समितिले जग्गा हेर्नु पूर्व पेसागत सङ्घसङ्गठनसँग छलफलसमेत गरेको दवाडीले जानकारी दिए । अधिकांशले मध्यभाग भएकाले भरतपुरलाई रुचाइएको जनाइएको छ । भरतपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले समितिले भनेको भन्दा धेरै जग्गा एकै ठाउँमा मिलेको भरतपुर उपलब्ध गराउन सहमत भएको जानकारी दिए । सबै हिसाबले भरतपुर उपयुक्त हुने उनी बताउँछन् । शिक्षा मन्त्रालयले सुरुमा ३०० शय्या र क्रमशः शय्या थप गर्दै लैजाने योजना बनाएको छ । अस्पतालसँगै व्यवस्थित कुरुवा घर बनाइँदै छ । रासस

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया