पोखरेलीको प्यास मेटाएको बालधारा संकटमा

पोखरा - एक सय वर्षअघि पोखराका स्थानीय पानी कै लागि सयौं मिटर हिड्नुपथ्र्यो । वि.सं. १९५५मा बनेको नालामुखको ढुंगे धारा बाहेक अन्य स्थानमा पानीको मुहान थिएन् । उतिबेला पोखराको पुरानो बजार मानिएको भैरवटोल, तेर्सापट्टी, नालाको मुख लगायतका विभिन्न स्थानबाट धारापानी, लक्ष्मीधारा, फिर्केसम्म पानी भर्न जान्थे । पानी लिनका लागि मुख्य बजार छोडेर गएपछि बाँकी जँगल, झाडीको बाटो हिड्नु पथ्र्यो । जँगली जनावरको निकै डर थियो । महिला, केटाकेहीहरुलाई त झनै सकस थियो, उ बेला ।
पानी कै लागि संघर्ष खेपेका पोखरेलीका लागि वि.सं. १९७७ पछि भने एकाएक खुसी दिन सुरु भए । तत्कालीन समयका सैनिक कमाण्डर इन चिफ बबर शमशेर राणाले पोखरामा धारा बनाइदिए । उनका छोरा बालनरसिंह राणाको १४ वर्षको उमेरमा मृत्यु भएको थियो । उनै बबर शमशेरले छोरोको सम्झनामा १४ वटा धारा निर्माण गरेका हुन् । उनले बेलायत गएर खानेपानीको योजना बनाएको संस्कृतविद् अष्टमान प्रधानाङ्गले बताए । ‘छोराको मृत्युपछि स्थानीयले खानेपानीको बारेमा सुझाएपछि बबर शमशेर बेलायत गएछ,’ उनले भने, ‘बेलायतबाट नै खानेपानीको इन्जिनियरहरु, धारा, पाइप बेलायतबाटै ल्याएका हो ।’ सामान र इन्जिनियर ल्याएपछि कृतिपुर बाघभैरवका पलम्बर बैकुण्ठलाल श्रेष्ठ पोखरा झिकाएर योजना सफल बनाएको उनी बताउँछन् । अहिलेको पोखरा ५ धारापानीका दुई वटा ट्याङ्की बनाएर पोखराको १४ स्थानमा बालधारा निर्माण गरेर पोखरेलीलाई पानी खुवाएको प्रधानाङ्गले सम्झिए ।
पोखरेलीको तिर्खा मेटाएको बालधारा अहिले जीर्ण अवस्थामा छन् । १४ स्थानमा बनाइएका र इतिहास बोकेको धारा नष्ट हुने अवस्थामा छन् । केही धाराको अवशेष मात्र बाँकी रहने अवस्था रहेको प्रधानाङ्ग बताउँछन् । त्यो बेला पोखरा १ को बागबजार चोक, वडा नम्बर २ विन्दावासिनी परिसर, मोहरिया टोल, भीमसेन टोल, भैरव टोल, नालाको मुख, तेर्सापट्टी, पालिखेचोक, शोभाभगवती मन्दिर, सिद्धार्थचोक, गैह्रापाटन चोक, सिमल चौर, र रानीपौवा (पुरानो धारा) मा बालधारा बनेको थिए । ती मध्ये केही जीर्ण छन् भने केहीको अस्तित्व मेटिसकेको उनी बताउँछन् । पोखरामा पहिलोपटक फलामको पाइपबाट पानी ल्याएर सार्वजनिक कलधारा निर्माण भएको स्थानीयको दाबी छ ।
इतिहास बोकेका बालधाराहरु संरक्षणमा धेरैको ध्यान नगए पनि केही टोल विकास संस्था र व्याक्तिहरुले चासो देखाएका छन् । बालधारा बनेको सय वर्ष पुगेको अवसरमा स्थानीय सुनिल उलकको संयोजकत्वमा ‘बालधारा संरक्षण अभियान समिति’ गठन भएको थियो । जसमा राजन श्रेष्ठ, सूर्य क्षेत्री, विष्णुहरी अधिकारी सदस्य थिए । समितिले प्रभावकारी रुपमा काम भने गर्न सकेन् । संरक्षणका लागि सम्बन्धित निकायबाट सकारात्मक प्रतिक्रिया वा सहयोग नआएको समितिको गुनासो छ । आर्थिक स्रोत र आवश्यक सरकारी समन्वय अभावकै कारण काम रोकिएको संयोजक उलकले बताए ।
संयोजक उलक कै सल्लाह र सहयोगमा मोहरिया टोल भैरव टोल विकास संस्थाले बालधारा संरक्षण अभियान अघि बढाएको छ । सरकारी तवरबाट सहयोग नआउने भएपछि आफूहरु संरक्षण अभियानमा जुटेको भैरवटोल बालधारा संरक्षण समितिका संयोजक बिकल बड्गामीले जानकारी दिए । वडा नम्बर २ बाट सहयोगको आश्वासन आएपनि स्थानीयको सहयोग र सक्रियतामा काम अघि बढेको उनले बताए । धारा दुरुस्तै राखेर छेउछाउमा ढुंगे धारा थप गरी आकर्षक बनाउने काम भइरहेको बडगामीको भनाइ थियो । ‘धारा संरक्षण गर्न हामीले संघ, प्रदेश, महानगरपालिका र वडालाई पत्र बुझाएका थियौं, सहयोग आएन् वडाध्यक्ष ज्यूले दिन्छु भन्नु भएको छ,’ उनले भने, ‘अहिलेसम्म करिब २ लाख खर्च भइसकेको छ, सबै पोखरा भन्दा बाहिर बस्ने र यहीको स्थानीयले आर्थिक सहयोग गर्नुभएको हो ।’
मोहरिया टोल र भैरव टोलभित्र रहेका इतिहास बोकेका क्षेत्रहरुको संरक्षण गर्दै निःशुल्क संग्राहयल बनाउने योजना रहेको मोहरिया टोल भैरव टोल विकास संस्थाका अध्यक्ष सबिन उदासले जानकारी दिए । ‘यहाँ विषेश गरी चाइनिज र जापानिज पर्यटकहरु आउँछन्, अन्य देशका र नेपालकै धेरै पाहुनाहरु हेर्न आउनुहुन्छ,’ उनले भने, ‘यहाँ आउने पर्यटकहरुका लागि पनि हामीले यस्ता ऐतिहासिक बस्तुहरु संरक्षण गर्न जरुरी छ ।’ बालधाराको पानी खाने मध्येको एक बताउने उनी २०६५ सालसम्म धारामा पानी आइरहेको सम्झन्छन् । सरकारले आर्थिक सहयोग नगरेपनि हौसलासम्म पनि नगरेकोमा उनको गुनासो थियो । ‘सरकारले आर्थिक सहयोग त गरेनन्, हौसलासम्म दिएको छैन्,’ उनले भने, ‘हामीले गरेको यो कामको कति धेरैले राम्रो भनेको छ तर सरकारबाट धन्यावाद पनि आएको छैन् ।’

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया