आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

महिलालाई सवारी चालक तालिम

फाइल तस्‍बिर

पोखरा - माछापुच्छे गाउँपालिकाले महिलालाई सशक्तिकरण गराउन सवारी चालक तालिम सञ्चालन गरेको छ । उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत महिलालाई व्यवसायिक चालक बनाउने उद्देश्यले १८ महिलालाई एक महिने हलुका चारपाङ्ग्रे सवारी साधन चालकको तालिम सञ्चालन गरिएको उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिए । 

'हामीले महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । चालक तालिम पनि यसैअन्तर्गत सञ्चालन गरेका हौ,' उनले भने ।  महिलालाई परम्परागत सीपभन्दा अलि फरक प्रविधि र विकाससँग जोडेर तालिम दिइएको उहाँको भनाइ थियो । तालिम विलासिताको लागि नभइ व्यावसायिक चालक बन्न प्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको र यो तालिमले विस्तारै चालक बन्न प्रेरित गर्ने अपेक्षा गाउँपालिकाको छ ।  

गाँउपालिकाले २५ वर्षदेखी ४० वर्ष उमेर समूहका एकल, दलित र विपन्न महिलालाई लक्ष गरेर आवेदन माग गरेकामा ६३ आकांक्षीले फर्म भरेका थिए । तीमध्ये  १८ जना छनोट भएका थिए । गाउँपालिकाले यसअघि महिलालाई निजामति सेवा प्रवेशका लागि लोकसेवा तयारीको कक्षासमेत सञ्चालन गर्नाका साथै महिल सीपसँग जोडेर महिला उद्यमी समूहसमेत गठन गरेको छ ।  स्थानीय उत्पादनलाई बजारीकरण गर्दै आर्थिक सशक्तिकरण गर्न गाउँपालिका र समुदायसँग मिलेर कोशेली घर निर्माणको कार्य पनि थालनी गरिएको उपाध्यक्ष दवाडीले जानकारी दिए ।