सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

बुधबार पाँचौं निर्यात दिवस मनाइने

काठमाडौं : नेपाल निर्यात परिषद्ले बुधबार पाँचौं निर्यात दिवस मनाउने भएको छ । सोमबार पत्रकार सम्मेलन आयोजना गरी परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले ‘निकासी व्यापारको सुधार, राष्ट्रिय अर्थतन्त्रको मूल आधार’ भन्‍ने नाराका साथ निर्यात दिवस मनाउन लागेको बताएका छन् । 

स्वदेशी उत्पादनका वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा निर्यातका प्रवर्द्धनका लागि प्रतिस्पर्धी बनाई निकासी अभिवृद्धि गर्न उद्योगी व्यवसायीहरुलाई प्रेरित गर्ने उद्देश्य रहेको परिषद्‍ले जानकारी दिएको छ । परिषद्ले हरेक वर्ष निर्यात दिवस मनाउँदै आएको छ ।

कोरोनाका महामारीकाबीच नेपालको निकासीमा नकारात्मक असर परेको परिषद्‍ले जनाएको छ । चालू आर्थिक बर्षको कात्तिकसम्म नेपालको आयात ४ खर्व २ अर्व ४९ करोड र निकासी ४० अर्व २० करोड रहेको परिषद्ले जनाएको छ । चर्को हवाइ भाडा, दक्ष जनशक्तिको कमी, चर्को बैंक व्याजदर लगाएतका समस्या निर्यात क्षेत्रमा देखिएको परिषद्का अध्यक्ष हरी बहादुर कार्कीले बताए ।

यस्तै निर्यात व्यवसायीबीचको समस्या र व्यवसायीक एक्यबद्धता देखाउन, आयातमुखि बजारलाई निर्यातमुखि बनाउन, सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गर्न, निर्यात र व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले पनि निर्यात दिवस मनाउँदै आएको अध्यक्ष कार्कीले बताए । 

निर्यात दिवसको अवसरमा कोभिड–१९ले नेपाली निर्यातजन्य वस्तुहरुमा पुर्‍याएको असर, समस्या समाधानका उपायहरु लगायत वस्तुको प्रवद्र्धन र विकासका लागि अपनाउनुपर्ने अल्पकालिन, मध्यकालिन र दिर्घकालिन रणनीतिहरु सम्बन्धमा उद्यमी व्यवसायीहरुलाई जानकारी दिने र आगामी दिनमा निकासी अभिवृद्धि गर्ने तर्फ निर्यात दिवसले प्रेरित गर्ने विश्वास समेत परिषद्ले गरेको छ ।