एचआइडीसीएलले १० वर्षमा ४ अर्ब ९१ कराेड ऋण प्रवाह

काठमाडौँ- हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (साविककाे जलविद्युत लगानी तथा विकास कम्पनी) ले १० वर्षकाे अवधिमा ४ अर्ब ९१ करोड रुपैयाँ ऋण प्रवाह गरेकाे छ । कम्पनीबाट कुल ४४२.२ मेगावाट क्षमताका १२ वटा विभिन्न जलविद्युत आयोजनाहरूमा ६ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानीको प्रतिवद्धता गरेकाे छ ।
यसैगरी कम्पनीबाट नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणबाट प्रवर्द्धित जलविद्युतसँग सम्बन्धित विभिन्न ४ वटा कम्पनीहरुमा ९२.३ करोड रुपैयाँ सेयर लगानी गर्ने प्रतिवद्धता गरी २०७८ असोज मसान्तसम्ममा ३५ करोड ६६ लाख रुपैयाँ सेयर रकम भुक्तानी भएकाे जनाएकाे छ ।
कम्पनीकाे हिजो सम्पन्न दशौँ वार्षिक साधारण सभापश्चात् जारी विज्ञप्तिअनुसार कूल ७६२.३ मेगावाट क्षमताका ६ वटा विभिन्न जलविद्युत आयोजनाहरूमा ६ अर्ब ७३ करोड रुपैयाँ सेयर लगानीको प्रतिबद्धता भई २०७८ असोज मसान्तसम्ममा १ अर्ब ५१ करोड रुपैयाँ सेयर रकम भुक्तानी भएकाे छ ।
कम्पनीले सहायक कम्पनीहरू रेमिट हाइड्रो लिमिटेडमार्फत ७७.५ मेगावटको घुन्सा खोला जलविद्युत आयोजना र सिम्बुवा रेमिट हाइड्रो लिमिटेडमार्फत ७०.३ मेगावटको सिम्बुवा खोला जलविद्युत आयोजना निर्माण गर्ने कार्य अघि बढाएको विज्ञप्तिमा छ। ती दुवै आयोजनाहरूको विस्तृत अध्ययनको कार्य अन्तिम चरणमा रहेको र विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न भएपछि निर्माण प्रक्रिया अघि बढाइने कम्पनीले जनाएकाे छ।
साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीहरुलाई चुक्ता पूँजीको आठ प्रतिशतका दरले हुने एक अर्ब ४९ करोड ६० लाख रुपैयाँ बराबरको बोनस सेयर र चुक्ता पूँजीको ०.४२१ प्रतिशतका दरले हुने सात करोड ८७ लाख ३६ हजार आठ सय ४२ रुपैयाँ नगद लाभांश (करसहित) नेपाल सरकारको स्वीकृति लिएर वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।
हालसम्म जलविद्युत क्षेत्रमा मात्र लगानी गर्ने कम्पनीको उद्देश्य रहेकोमा साधारण सभाले नवीकरणीय ऊर्जाका क्षेत्रमा समेत लगानी गर्न सक्ने गरी आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ।
कम्पनीको अधिकृत पूँजी ५० अर्ब रुपैयाँ, जारी पूँजी २२ अर्ब रुपैयाँ र हालको चुक्ता पूँजी १८ अर्ब ७० करोड रुपैयाँ रहेको छ। दशौँ वार्षिक साधारण सभाबाट पारित बनाेस सेयरपछि कम्पनीको चुक्ता पूँजी २० अर्ब १९ करोड ६० लाख रुपैयाँ हुने विज्ञप्तिमा छ।
साधारण सभाले सर्वसाधारण समूहका सेयरधनीहरुबाट सुधीर ज्ञवाली सञ्चालक पदमा चयन गरेकाे छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया