मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

पुल नबन्दा हुलाकी राजमार्ग सञ्चालनमा अवरोध

झापा - पूर्व पश्चिम राजमार्गको विकल्पकोरूपमा निर्माण सुरु भएको हुलाकी राजमार्गको झापा खण्ड निर्माणको अन्तिम चरणमा पुगे पनि पुल नबन्दा तत्काल सञ्चालनमा अवरोध देखिएको छ । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कनकाई, रतुवा, विरिङ र कमल खोलाका पुल सम्पन्न हुन समय लाग्ने र सानोमाई, लेहरा, कृष्णे र भुतेनी खोलाका पुल निर्माण अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिए।

उनका अनुसार विसं २०६८ मै हुलाकी सडक पर्ने कनकाई, रतुवा खोलाका पुल निर्माण सुरु गरिएको थियो तर, एक दशक बितिसक्दासमेत कार्य सम्पन्न नहुँदा राजमार्ग सञ्चालनमा अवरोध भएको हो । उनले मुलुकको राजनीतिक अस्थिरता र कोेरोना महामारीलगायतका कारणले पुल निर्माणमा ढिलाई भएको बताए। जिल्लामा साना ठूला खोलामा गरी करिब २५ मी लम्बाइदेखि ६२४ मी लामो पुल निर्माण भइरहेको छ ।