घरदेखि विद्यालयसम्म बालबालिकालाई शिक्षा दिने पोस्टर

काठमाडौँ - कोभिड महामारीको विपत्तिमा विद्यालय बन्द हुँदा र खुल्दा विद्यार्थी, शिक्षक तथा अभिभावकले सिकाइका लागि के कस्ता भूमिका निर्बाह गर्न सक्छन् भन्ने सचेतनात्मक सन्देश दिनेखालका ६ वटा पोस्टर सार्वजनिक गरिएका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, आजको शिक्षा साप्ताहिक र सेभ द चिल्ड्रेनले संयुक्त रुपमा पोस्टर उत्पादन गरी शुक्रबार सार्वजनिक गरेका हुन् । ‘अभिभावक, शिक्षक र विद्यार्थीका लागि’ बनाइएका ती पोस्टरहरुको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले वेभिनार कार्यक्रममार्फत् सार्वजनिक गरेका हुन् ।
अभिभावक, शिक्षक र विद्यार्थी तीनै पक्षका लागि २–२ वटा पोस्टर बनाइएका छन् । सेभ द चिल्ड्रेनले ६ किसिमकै पोस्टरहरुलाई पहिलो चरणमा प्रदेश २ र कर्णाली प्रदेशमा वितरण गर्न ६० हजार प्रति छपाई भइसकेको जानकारी दिएको छ ।
पोस्टर सार्वजनिक कार्यक्रममा बोल्दै केन्द्रका महानिर्देशक पौडेलले भने, ‘यी पोस्टरहरु हाम्रा सम्पत्ति भएका छन् अब यी केन्द्रका वेभसाइटमा रहनेछन् । सिकाइ निरन्तरताका लागि अभिभावक, बालबालिका र शिक्षक तीनै पक्षलाई झक्झक्याउन पक्कै पनि सघाऊ पुग्नेछ ।’ उहाँले देशभरी रहेका करिव ३४ हजार विद्यालयहरुमा कम्तिमा एक–एक वटा पोस्टर पु¥याउन साझेदार संस्थालाई आग्रह गरे ।
महामारीका अवधिमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अगुवाईमा सिकाइसम्बन्धी विभिन्न सामग्री तयार पारिएको र पोस्टर पछिल्लो नवीन कार्य भएको उनको भनाई थियो । कार्यक्रममा आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देलले सरकार र गैरसरकारी संस्थासँग मिलेर मिडियाले सशक्त सन्देश बनाउन सक्छ भन्ने उदाहरण पोस्टर भएको बताए । उनले ६ वटै पोस्टरको परिकल्पना, चित्राङ्कन, डिजाइन र सन्देश लेखनसम्मका प्रक्रियालाई सबिस्तार जानकारी दिए ।
कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रकी निर्देशक एवं पाठ्यक्रम तथा सामग्री शाखा प्रमुख सविता दङ्गालले पाठ्यक्रमको सिकाइ सक्षमताको मर्मअनुसार पोस्टर बनेका र सातै प्रदेशका लागि उपयोगी हुने बताइन् । उनले प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरी पोस्टर तयार पारिएको पनि जानकारी दिइन् ।
प्रदेश २ को शिक्षा विकास निर्देशनालयका निर्देशक चूडामणि फुयालले सिकाइ निरन्तरतामा सचेतनाका लागि पोस्टरहरु धेरै उपयोगी देखिएकाले तराई क्षेत्रका निम्ति मैथिली र भोजपुरी भाषामा पनि अनुवाद गरेर वितरण गर्नुपर्ने धारणा राखे । उनले प्रदेश २ का सबै जिल्ला र स्थानीय तहमा पोस्टर पुर्याउन निर्देशनालयले सघाउने वचन दिए ।
सेभ द चिल्ड्रेनकी शिक्षा सल्लाहकार डा. लक्ष्मी पौड्यालले महामारीमा सिकाउन अपनाइएका सबैखाले माध्यम र उपायलाई पोस्टरमा नयाँ तरिकाले सम्बोधन गरिएको जानकारी दिइन् । उनले अनलाइन तथा रेडियो/टेलिभिजनबाट विमुख बालबालिकाको सिकाइमा अभिभावक सरिक गराउन पोस्टरले महत्वपूर्ण सन्देश दिन सक्ने बताइन् । सेभ द चिल्ड्रेनकै शिक्षा विशेषज्ञ उद्धव भट्टराईले घरमा बालबालिकालाई सिकाउन अभिभावकले गर्नुपर्ने क्रियाकलाप र कर्तव्य पोस्टरहरुले सम्झाउने पनि बताए ।
पोस्टरहरुमा अभिभावकले घरमा बालबालिकालाई सिकाउन गर्नुपर्ने क्रियाकलाप, उनीहरुको कर्तव्य, शिक्षकले विद्यालय खुल्दा तथा नखुल्दा अपनाउनुपर्ने शिक्षण विधि, सक्रियता र विद्यार्थीले सिक्न र लिन सक्ने सीपका विषयमा चित्रात्मक सन्देश राखिएका छन् ।

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया