मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

राजसंस्थाको आवश्यक्ता झनै बढ्योः अध्यक्ष लिङदेन

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताएका छन् । 

अध्यक्ष लिङदेनले सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा समेत औंल्याएका हुन् । 

स्वर्गीय राजा विरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दावी गरे । 

अध्यक्ष लिङदेनले देशलाई अन्य देशको खतराबाट टार्न समेत राजसंस्था अनिवार्य रहेको तर्क गरे ।  उनले राजा विरेन्द्रले देशलाई अन्य देशबाट झुक्न नदिन २०४६ सालमा राजनीतिक दलका नेताहरुसँग सम्झौंता गरेर संवैधानिक राजाको रुपमा आफूलाई उभ्याएको पनि बताए । 

उनले स्वर्गीय राजा विरेन्द्र जनप्रेमी र देशभक्त राजा भएको उल्लेख गरे । अध्यक्ष लिङदेनले भने, ‘म केटाकेटी नै थिए–२०३२ सालतिर होला । जब सिक्किममा राजसंस्थाको अन्त्य भयो । जनताका प्रतिनिधिहरुले भन्नेले त देशै भारतमा विलाई दिए । ओहो, राजा भएन भनेत देशै सकिने रहेछ, जब मेरो बाल मस्तिष्कमा पर्‍यो । राजाको अभावमा, राजसंस्थाको अभावमा हाम्रो पनि देश कुनै पनि बेला त्यस्तो खतरामा पर्न सक्छ भन्ने मलाई लागेको थियो । आज पनि म त्यही जहाँ जाँदा पनि राजसंस्थाको कुरा गर्दा खेरी आज जनतालाई भन्ने गरेको छु –२०३२ सालसम्म हाम्रो छिमेकमा सिक्किम भन्ने देश थियो । त्यसबेला भन्दा अझ मैले अहिले बढि बुझ्छु । किन, त्यस बेला त थोरैथोरै बुझे । ए, राजा हट्यो, सिक्किम पनि सकियो । एउटा देश पनि समाप्त भो भन्ने मात्रै थियो । तर अहिले यसो हेर्छु । सिक्किम भन्ने नाम पनि छ । त्यहाँको भूगोल पनि छ । त्यहाँको माटो कसैले बोकेर लगेको छैन । सिक्किम सिक्किमै छ । तर सिक्किम भन्ने देश त छैन । अहिले पछिल्लो दिनमा त्यहीँ खतरा हाम्रो देशले बोकिराखेको छ । त्यसका लागि नेपालको सन्दर्भमा राजसंस्थाको आवश्यक्ता छ भनेर मैले भन्ने गर्छु । ।’

अध्यक्ष लिङदेनले राजनीतिक दलका नेताहरु भन्दा राजा बढि देशभक्त हुन्छन भन्ने कुरालाई राजा विरेन्द्रले प्रमाणित गरेको बताए । कार्यक्रममा बोल्दै पूर्वमन्त्री विपिन कोइरालाले पनि मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको जिकीर गरे । उनले स्वर्गीय राजा वीरेन्द्रको देशभक्ति र जनहितकारी कामको स्मरण पनि गराए ।