शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

लाजको पसारो

‘जनप्रतिनिधि निर्मित संविधानको यो धारा ‘सौन्दर्य’का निम्ति मात्र हो ?’ कोराना महामारीमा सरकारी क्रियाकलाप हेर्ने हो भने संविधानमा कुँदिएका वाक्य ‘संविधान’का शब्दमै सीमित राख्न खोज्दैछ । संविधान र नागरिकप्रति उत्तरदायी सरकार भएको भए ‘कोराना उपचार’ आफैं गर्नु भन्ने ठाडो जवाफ थिएन । नेपालको संविधान, २०७२ को धारा ३५ (१) र (३) ‘मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिनेछैन र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भन्ने व्यवस्था गरिएको छ ।'

संविधानको यसै प्रावधानबमोजिम सर्वोच्च अदालतले गत असोज १५ गते कोभिड १९ को निःशुल्क परीक्षण गर्न सरकारलाई उत्प्रेषण, परमादेश जारी गरेको थियो । सर्वोच्चले आफ्‍नो पूर्ण पाठमा सरकारले पीसीआर परीक्षण शुल्क लिएर गर्नुलाई संविधानको मौलिक हक र जनस्वास्थ्य सेवा ऐन २०७५ को व्यवस्थाविपरीत हुने ठहर गर्‍यो । सरकारले निःशुल्क रुपमा सेवा उपलब्ध गराउने रोगको सूचीमा कोभिड १९ लाई नराखेको सन्दर्भमा पनि सर्वोच्चले यो रोगलाई अविलम्ब अनुसूचिमा समेट्नु भनी स्वास्थ्य मन्त्रालयको नाममा परमादेश जारी गरेको थियो ।

सर्वोच्चबाट उक्त फैसलाको पूर्ण पाठ आएकै पर्सिपल्ट कोभिड १९ को सम्पूर्ण खर्च बिरामी स्वयंले बेहोर्नुपर्ने फरमान जारी गरेर कानुनी शासनको धज्जी मात्र उडाएन, सर्वोच्चको उक्त परमादेशलाई समेत चुनौती थियो । अर्थात् यो सरकारले विधिको शासन र संविधानको सर्वोच्चतालाई अस्वीकार गरेको प्रस्ट रुपले देखायो । सर्वोच्चको परमादेश, ‘जुन लागू गर्नैपर्छ’ लाई समेत नमान्ने सरकारले आमनागरिकका याचना, तिनका दुरवस्थाप्रति कति संवेदनशील होला सहजै अनुमान गर्न सकिन्छ ।
यही सरकारका मन्त्री, तिनका कार्यकर्ता र आफन्तहरुले राज्यकोषबाट स्वास्थ्य उपचारका लागि करोडौं रुपैयाँ बुझेका छन् ।

राष्ट्रपति कार्यालयका सजावट, गाडी, बंगलादेखि उपरराष्ट्रपतिको भव्य आलिसान महल, मन्त्रीका टाँठबाँठ हेर्दा यो मुलुक कुनै उच्च विकसित र सम्भ्रान्त देशको झल्को देखाउँछ ।

प्रधानमन्त्री केपी ओली स्वयं पटक-पटक राज्यकोषबाट पैसा लिंदै उपचार गर्दै आएका छन् । तर विश्व महामारीका कारण नागरिकको आय खुम्चिएको, सुकेको र आधारभूत रुपमा बाँच्न पनि मुस्किल परिरहेको अवस्थामा सरकारले कोभिड-१९ को परीक्षण र उपचार गर्न सक्दिनँ भन्नु आफैमा लाजको पसारोबाहेक अरु हुन सक्दैन । प्रत्येक नागरिकले खाने गास कटाएर तिरेको तिरोले राज्य सञ्चालकहरु सुख, सुविधा, ऐस र आराममा मस्त छन् । राष्ट्रपति कार्यालयका सजावट, गाडी, बंगलादेखि उपरराष्ट्रपतिको भव्य आलिसान महल, मन्त्रीका टाँठबाँठ हेर्दा यो मुलुक कुनै उच्च विकसित र सम्भ्रान्त देशको झल्को देखाउँछ ।

कोभिड-१९ ले नागरिकको रोजीरोटी छिनेको छ । आम्दानीको स्रोत सुकेको छ । दिनहुँ कमाएर खाने मजदुर वर्ग सडकमा आएका छन् । उनीहरुलाई सहृदयी नेपालीहरुले मुठीदान गरी दिनहुँ टुँडिखेलमा खाना खुवाइरहेका छन् । टुँडिखेल परिसरमा नआउनै लाखौं मजदुरहरु पनि भोकभोकै छन् । कोडिभ-१९ को संक्रमणका कारण सरकारले पटक, पटक गरेको लकडाउन र निषेधाज्ञाले उद्योग, कलकारखाना बन्द छन् । व्यापार चौपट छ । कोरोनाको यो कहरले उनीहरुको बाँच्ने आधार छिनेको छ भने उपचार गर्न सक्नु निकै परको कुरा भएको छ ।

तिनै नागरिकका करले सरकार र उसका सदस्य, कर्मचारीहरु अनवरत सेवा सुविधा पाइरहने, तर नागरिकलाई अप्ठेरो र आपत् पर्दा आफै गर्ने उर्दी दिने सरकार किमार्थ लोककल्याणकारी हुन सक्दैन । कोरोनाले सारा नेपालीको आम्दानी घटेको छ । निजी प्रतिष्ठानले मजदुरलाई तलब दिएका छैनन र दिने हैसियत भएकाहरुले पनि आधा कटौती गरिरहेका छन् । तर सरकारी कर्मचारी, मन्त्री वा नेताको तलब कटौती गरेर नागरिकको उपचारमा खर्च गर्ने सोचसमेत यो सरकारमा आएन । यसको सीधा अर्थ हो नागरिक मरे मरुन्, उसलाई के मतलब । सरकारको यो रवैया र व्यवहार आमनागरिकप्रतिको ठाडो अपमान हो ।

‘कोरोना उपचार आफै गर्नू’ भन्ने उर्दी जारी गरेको केन्द्र सरकारलाई केही प्रदेश सरकारहरुले गतिलो झापड दिएका छन् । प्रदेश-२, बागमती, गण्डकी र लुम्बिनी प्रदेशले आफ्‍ना नागरिकको कोरोना उपचार सरकारले गर्ने निर्णय गरेका छन् । प्रदेश सरकारको यो निर्णय निश्चय स्वागतयोग्य हो । तर यसको घोषणा गर्न ढिलाई नभएको पनि होइन । आफै कानुन बनाउन सक्ने हैसियत राख्ने प्रदेशले कोभिड-१९ मा प्रताडित जनतालाई ठोस राहत दिन नसकिरहेका बेला यस्ता निर्णयले केन्द्र सरकारको नियतलाई चिसो पानी खन्याइदिएको छ । प्रदेशलाई प्रशासनिक एकाइ मान्ने यो सरकारले प्रदेश स्तरमै सुरुदेखि नै कोरोना उपचार गर्न सघाउ पुर्‍याउनुपर्थ्यो । संघीयता अपनाइए पनि प्रधानमन्त्री र मन्त्रीहरुमा केन्द्रिकृत मानसिकता छ भन्ने यसले देखाउँछ ।

र, यो पनि
- कोभिड उपचारमा केन्द्रलाई प्रदेश सरकारको चुनौती
- जनचाहना बमोजिम कोभिड-१९ को उपचारमा शुल्क लिने निर्णय भएको हो  : स्वास्थ्यमन्त्री
- गण्डकी प्रदेशले कोभिड-१९ को उपचार गरेको शुल्क नलिने
- 'प्रधानमन्त्रीज्यू बरू सिधै भनिदिनुस् संक्रमितको संख्या गन्‍नेबाहेक थप केही गरिन्‍न'
- अब कोभिड-१९ परीक्षण र उपचार आफ्नै खर्चमा

यो सरकार गठन भएयता नागरिकलाई कुनै सेवा प्रवाह गर्न नसकेको चौतर्फी अनुभव गरिएकै हो  । अघिपछि नागरिकले आफ्नो दुखजिलो गरेर जेनेतन जीवन निर्वाह गरेकै थिए । आम्दानी सुकेका बेला उपचार गर्न नपाएका, परीक्षण निम्ति पैसा तिर्न नसकेका, खान नपाएका र बालबच्चालाई भोकभोकै राख्न बाध्य नागरिकहरुप्रति सरकार अभिभावकजस्तो हुनुपर्थ्यो ।

जनताले खाना खान नपाइरहेको यस्तो अवस्थामा सत्तारुढ नेतालाई ७२ करोड उपलब्ध गराउने निर्णय गरिरहँदा सरकारलाई लाज लाग्दैन ? त्यस अतिरिक्त आफू करोडौं रुपैयाँ पर्ने गाडी चढ्ने, महलमा बस्ने, केचाहिं खानेकुरो नखाउँ भन्नेमा रहने तर नागरिक भोकभोकै र उपचारविहीन हुनुपर्ने अवस्थालाई अरु देशले पनि नियालिरहेका छन् । र यो सरकारलाई रत्तिभर लाज छैन ।

यतिखेरको मुख्य चुनौती नागरिकको उपचार र उनीहरु भोकभोकै बस्नुपर्ने अवस्थाको अन्त्य हो । सरकारले पैसा छैन भने यस्तै बेला हो विकास निर्माणको बजेट कटौती गर्ने । सांसदहरुले दसैँभत्ता धमाधम फिर्ता गरेर सरकारको नाकमा अर्काे झापड हानिरहेका छन् । सरकारले नै पहिला निर्णय गर्नुपर्थ्यो कि जनता दुःखमा परेका बेला केही त्याग गर्नुपर्छ भनेर ।

सर्वप्रथम राष्ट्रपतिदेखि राष्ट्र सेवकसम्मको तलब भत्ता कटौती गर्नुपर्छ । सांसद विकास कोष, सत्तारुढ दल निकट नेताका प्रतिष्ठान, पार्टीका नेता तथा उपनेताहरुलाई लक्ष्यित गरी वितरण गरिएका बजेट कटौती गर्नुपर्छ । एक वर्ष विकास नगर्दैमा केही हुनेवाला छैन । अनावश्यक विकास योजना रद्द गरेर पनि बजेटको जोहो भएन भने मात्रै यस्तो अप्रिय निर्णय गर्दा पनि जनताले सहज रुपमा लिनेछन् । नागरिकको जीवन रक्षा प्राथमिक कार्य हो ।