आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

इयू-यूकेबीच ४७ वर्षको सम्बन्ध आजबाट औपचारिक विच्छेद

युरोपेली संघबाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया सम्पन्‍न भएसँगै यूकेका लागि नयाँ युग सुरु भएको छ । जीएमटी समयअनुसार राति ११ बजेदेखि यूकेले संघ अन्तर्गतका नियमहरूको पालना गर्न छोडेको छ ।

यात्रा, व्यापार, अध्यागमन र सुरक्षा सहकार्यका लागि नयाँ व्यवस्थाहरू लागु गरिएको छ । लामो समय लगाएर सम्पन्‍न भएको भए पनि ब्रेक्जिटसँगै अब यूकेको "स्वतन्त्रता उसकै हातमा रहेको" र ऊसँग "फरक र राम्रो" ढङ्गले काम गर्ने क्षमता रहेको ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् ।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले यूके आफूहरूको "मित्र र सहयोगी" रहने बताएका छन् । नयाँ प्रावधानहरू लागु हुन लागेको अवस्थामा केही अवरोधहरू देखिन सक्ने यूकेका मन्त्रीहरूले चेतावनी दिएका छन् । बन्दरगाहहरूमा मालसामान अड्किन सक्ने डरकाबीच अधिकारीहरूले सीमा सम्बन्धी नयाँ प्रणाली कार्यान्वयन गर्न आफूहरू तयार रहेको बताएका छन् ।

२७ सदस्य राष्ट्र रहेको युरोपेली संघबाट यूके गत वर्ष जनवरी ३१ तारिखमा बाहिरिएको थियो । सन् २०१६ मा गरिएको ब्रेक्जिट जनमत सङ्ग्रहको करिब साढे तीन वर्ष पछि यूकेले यसतर्फ अन्तिम कदम चालेको हो । भविष्यमा आवश्यक पर्ने आर्थिक सहकार्यको खाका कोर्नका लागि उसले ११ महिनासम्म संघको व्यापार सम्बन्धी नियमहरू पालना गर्दै छलफल अघि बढाएको थियो । 

माछा मार्ने अधिकार तथा भावी व्यापार नीतिलाई लिएर महिनौँयता जारी मतभेद अन्त्य गर्दै युरोपेली संघ र यूकेले क्रिसमसको अघिल्लो दिन ब्रेक्जिट पछिको व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए । कोरोनाभाइरस महामारीको असर, सीमामा अवरोध तथा आयातमा कर लगायतका समस्या झेलिरहेका थुप्रै ब्रिटिश व्यापारी समुदायका लागि व्यापार सम्झौता एउटा महत्त्वपूर्ण राहत हुने ठानिएको छ । बीबीसी