मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

महाधिवेशन उद्घाटनमा सबै पार्टीलाई माओवादीको निम्‍तो

काठमाडौँ - नेकपा माओवादी केन्द्रले आठौँ राष्‍ट्रिय महाधिवेशनमा आतिथ्यका लागि विभिन्‍न राजनीतक दललाई निमन्त्रणा गरेको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालकाअनुसार नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत पार्टीलाई निमन्त्रणा गरिएको हो । समय कम भएकोले विदेशी पाहुँना बोलाउन भने सम्भव नभएको ढकालले बताए । तर, नेपालिस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलाई भने निमन्त्रणा गरिने उनको भनाइ छ । 

यसअघि राष्‍ट्रिय सम्मेलनको तयारी गरेको माओवादीले कुनै पनि राजनीतिक दललाई नबोलाउने बताएको थियो । तर, शनिबार बसेको स्थायी समिति बैठकले सम्म्लनलाई महाधिवेशनमा रूपान्तरण गरेपछि आथित्यता लागि दलहरूलाई बोलाएको हो । शनिबार स्थायी समितिले गरेको निर्णय अहिले केहीबेरमा बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ ।

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आज (आइतबार) काठमाडौंमा सुरु हुँदै छ। आज दिउँसो ३ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आठौं महाधिवेशन उद्घाटन गरिने माओवादी केन्द्रले जनाएको छ।