म्याग्दीमा मोडर्ना खोप लगाउन सुरु

म्याग्दी - म्याग्दीका १२ देखि १८ वर्षमुनिका किशोर–किशोरीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको छ । पुस १४ गतेसम्म छ वटा स्थानीय तहका १२ हजार ६८६ किशोर–किशोरीलाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले अधिकांश विद्यार्थी भएकाले उनीहरूलाई विद्यालय र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी खोप लगाउन थालिएको जानकारी दिए ।
अभियान सुरु गर्नुअघि कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा र चौकीहरूले मोडर्ना खोप लगाउने लक्षित समुदायको तथ्याङ्क सङ्कलन गरेका थिए । बेनी नगरपालिकाका पाँच हजार ५३२, मालिकाका दुई हजार २८, धवलागिरिका एक हजार ४६५, मङ्गलाका एक हजार ४४५, रघुगङ्गाका एक हजार ११४ र अन्नपूर्णका एक हजार १०२ जनालाई मोडर्ना खोप लगाउने लक्ष्य छ ।
खोप लगाउनका लागि ८६ खोप केन्द्र कायम गरिएको छ । एक हजार ३०४ भाइल भ्याक्सिन आएको छ । धवलागिरि, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिकामा पुस ९ देखि १४ र बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पुस ११ देखि १४ गतेसम्म खोप लगाउने समयतालिका बनाइएको छ ।
म्याग्दीका ३९ हजार ३९९ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । थप १० हजार १७८ जनाले पहिलो डोज खोप लगाएका छन् । पूर्ण डोज खोपमा कोभिशिल्ड, भेरोसेल र एक डोज मात्र लगाउने जोन्सन एण्ड जोन्सनसमेतका खोप समावेश छन् । लक्षित ७२ हजार ९७३ जनसङ्ख्यामध्ये २३ हजार ३९६ अर्थात् ३२ प्रतिशतले अझै कोरोनाविरुद्धको खोप पाएका छैनन् । रासस

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

प्रतिक्रिया