शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

अख्तियारद्वारा मालपोत अधिकृत र अमिनविरुद्ध मुद्दा दायर

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय चितवनका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका-२० मा करारमा कार्यरत अमिन बिरेन्द्रबहादुर कठायतविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले मालपोत अधिकृत पौडेलविरुद्ध अंश बण्डा एवं बाटो कायम गरी जग्गा धनीपूर्जा बनाइदिएबापत सेवाग्राहीसँग ५० हजार घुस मागेको अभियोगमा उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

त्यस्तै भरतपुर महानगरपालिका-२० मा करारमा कार्यरत बिरेन्द्रबहादुर कठायतले सोही कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राही एक लाख ५० हजार नगद र तीन लाख ५० हजार गरी पाँच लाखको चेक लिएको अनुसन्धानबाट खुलेकाे छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको भन्‍दै चितवन मालपोत कार्यालयका अधिकृत पौडेलसँग ५० हजार र करारमा कार्यरत अमिन कठायतसँग पाँच लाख बिगो माग गरेको छ ।