वायुसेवा निगमको अन्तर्राष्ट्रियतर्फ २५ प्रतिशत बजार हिस्सा
काठमाडौँ - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि अन्तर्राष्ट्रियतर्फ सन्तोषजनक व्यापार गरेको छ ।
निगमले सन् २०२० मा अन्तर्राष्ट्रिय गन्तव्यमा २५ प्रतिशत बजार हिस्सा ओगटेको छ । महामारीका बेला सीमित सङ्ख्याका अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान भएकाले निगमको व्यापार बढेको हो । महामारीका बेला सीमित सङ्ख्याका अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गरेकाले निगमको व्यापार हिस्सा बढेको निगमका कर्पोरेट निर्देशक अर्चना खड्काले जानकारी दिइन् ।
“महामारीकाबेला सन् २०२० मा निगमको व्यापार हिस्सा राम्रो देखिनुमा सीमित एयरलाइन्सले उडान सञ्चालन गरेर हो । अघिल्लो वर्ष निगमले प्रतिस्पर्धी एयरलाइन्ससँग पनि व्यापार हिस्सा राम्रै गरेको थियो”, उनले भनिन् । निगमले कोभिड महामारीपूर्व सन् २०१९ मा अन्तर्राष्ट्रियतर्फ १७.८० प्रतिशत व्यापार हिस्सा ओगटेको थियो । त्यस्तै सन् २०१८ मा ११.३ र सन् २०१७ मा ९.७० प्रतिशत व्यापार गरेको थियो । त्यसअघि सन् २०१५ मा जम्मा ७.९० प्रतिशत रहेकामा सन् २०१६ मा १०.९० प्रतिशत व्यापार हिस्सा ओगटेको थियो ।
निगमले अन्तर्राष्ट्रियस्तरमा दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ । भारतका तीन नयाँदिल्ली, मुम्बई र बैङ्लोर तथा जापानको नारितामा, मलेसियाको क्वालालम्पुर, हङ्कङ, थाइल्याण्डको बैंकक, कतारको दोहा र दुबईमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । नेपालले हाल ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । हाल तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा बजार हिस्सा बढाउने गरी भएका जहाजको प्रभावकारी व्यवस्थापन र आवश्यक जहाज खरिदका लागि कार्ययोजनाका साथ अघि बढेको जानकारी दिए । जहाज थपेर व्यापार बढाउने कार्ययोजनाका साथ काम अघि बढाउन निगम लागि परेको बताए । निगमले दक्षिण कोरिया, चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा पनि उडान विस्तार गर्ने योजना बनाएको थियो । महामारीले उक्त योजना सार्थक हुन सकेको छैन ।

अर्थ मन्त्रालय प्रवेशमा कडाई

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

युनाइटेड सिमेन्ट्सको निःशुल्क सिलाई–कटाई तालिम सम्पन्न

पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन हुने

प्रतिक्रिया