पदमार्गले २० मिनेटमा छोटियो एक घण्टाको यात्रा
म्याग्दी : रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने पदमार्ग निर्माण भएको छ । बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको पैदलमार्ग निर्माण भएपछि यात्राअवधि छोटिएको हो । स्थानीयवासी राजन केसीले पदमार्ग निर्माण भएपछि एक घण्टाको यात्राअवधि बीस मिनेटमा छोटिएको बताए ।
“दुई किलोमिटर उकालो र घुमाउरो बाटोबाट रिसिनचौतारी र बैसरी आवतजावत गर्न एक घण्टा लाग्दथ्यो”, उनले भने, “जङ्गलको बीचबाट ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाएपछि आधाभन्दा धेरै समय र दूरी घटेको छ ।” चालीस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडको सहयोगमा एक हजार ५०० मिटर लामो र दुई दशमलव पाँच मिटर चौडाइ भएको पदमार्ग निर्माण भएको छ ।
प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत बैसरी–रिसिन चौतारी पदमार्ग निर्माणका लागि रघुगङ्गा हाइड्रोपावरले रु पाँच लाख विनियोजन गरेको थियो । आयोजनाको सहयोग पाएपछि स्थानीयवासीले श्रमदान गरेर उकालो र भिरालो ठाउँमा रहेको जङ्गलभित्र ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाएका हुन् ।
भगवतीका बासिन्दा बेनी–जोमसोम सडकमा पुग्न, कालीगण्डकीमा शवदाह गर्न मलामी जान यो पदमार्ग प्रयोग गर्छन् । यो पदमार्ग भएर माझखर्क, ओखरेट हुँदै गाउँपालिकाको केन्द्र मौवाफाँट र पर्यटकीयस्थल रुइसे पनि जान सकिन्छ । रिसिनचौतारीका बासिन्दा दुर्गाबहादुर केसीले पदमार्ग बनेपछि धेरै सुविधा भएको बताए । शवदाहसंस्कार गर्न कालीगण्डकीको घाटमा जाने मलामीलाई पदमार्गले धेरै सुविधा पुगेको केसीले बताए ।
आयोजनाका प्रशासकीय अधिकृत मदन गिरीका अनुसार कम्पनीले रघुगङ्गा गाउँपालिकासँग समन्वय गरेर सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य र विकास गतिविधिका लागि पछिल्लो एक वर्षमा रु १५ लाख बराबर सहयोग गरेको छ ।
कोरोनाका सङ्क्रमित पहिचानका लागि एन्टिजेन खरिद गर्न रु एक लाख, आइसोलेसनमा बसेकाको खानाका लागि रु ४० हजार र प्रभावित क्षेत्रमा पर्ने बुग्लमा पहिरो नियन्त्रणका लागि बाँस र नेपियरको वृक्षरोपण गर्न रु छ लाख खर्च गरेको छ । सुरुङ खन्दा गरिने विष्फोटनको कम्पनका कारण चर्किएका धरमपानीका दुई वटा घरलाई रु ३३/३३ हजार, दुई वटा घरलाई रु ७०/७० हजार मर्मत खर्च उपलब्ध गराएको उनले बताए ।
बुग्लमा आयोजनाको पहुँचमार्गमा पुग्ने सडकका कारण पहिरोबाट जोखिममा परेको घरका एक वटा घरका धनीलाई एक लाख ५६ हजार र अर्का घरका धनीलाई ५६ हजार मर्मत खर्च उपलब्ध गराएको छ । बुग्लमा बालीनालीमा पुगेको रु दुई लाख ५० हजार मूल्य बराबरको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेको छ ।
पिप्लेमा सुरुङ खन्दा भएको विस्फोटले चर्किएर बस्न नमिल्ने भएका नौवटा र मर्मत गर्नुपर्ने सात वटा घर पहिचान गरी क्षतिपूर्ति उपलब्ध गराउन मूल्याङ्कन गरिएको छ । प्रभावित क्षेत्रका चार जनालाई खुला प्रतिस्पर्धाबाट आयोजनामा कर्मचारी नियुक्त गरिएको छ । रघुगङ्गा माविको खेलमैदान संरक्षणका लागि गाउँपालिका र ठेकेदार कम्पनी जेपीसँग साझेदारी गरेर पर्खाल निर्माण सुरु गर्ने तयारी गरेको छ । रासस

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया