'यसवर्ष कोभिडले दसैँ मनाओस्, अर्को वर्ष हामी मनाउँला'

काठमाडौं : दसैँको आज पाँचौ दिन । दार्चुलाका राजेन्द्रसिंह विष्टलाई भने कुनै हतार छैन । किनकी राजेन्द्र यसवर्ष काठमाडौंमै बस्छन् । त्रिभुवन विश्वविद्यालयमा एमबीएस प्रथम वर्षमा अध्ययनरत उनले दसैँमा दार्चुला नजाने निधो गरेका छन् ।
कोभिडको सन्त्रास त छँदै छ, उनको अनलाइन कक्षा पनि सँगै चलिरहेको छ । उनी काठमाडौं बस्न थालेको तीन वर्ष भयो । उनी पहिलो पटक दसैँमा घरबाट टाढा रहनेछन् । ‘तीजको बेला माइती जान नपाएको चेलीलाई जस्तो महशुस हुन्छ, त्यस्तै मलाई पनि महशुस भइरहेको छ,’ उनले भने, ‘यसवर्ष कोभिड-१९ ले दसैँ मनाओस्, अर्को वर्ष हामी मनाउँला ।’
राजेन्द्रले जस्तै थुप्रै विद्यार्थीहरु यसवर्ष दसैँमा घर गएका छैनन् । दसैँ भित्रिसक्दा बजारमा पनि अघिल्ला वर्षहरु जस्तो चहलपहल भने देखिँदैन । टिकट काउन्टरहरुमा पनि त्यति भीड छैन ।
सिरहा, औरही गाउँपालिका-४ का राज यादव पनि दसैँमा घर नजाने निधोमा पुगेका छन् । रत्नराज्य लक्ष्मी क्याम्पसको पत्रकारिता अन्तर्गत स्नातकोत्तर तेस्रो वर्षमा अध्ययनरत छन् उनी । उनको घरमा दसैँको टिकाटाला त हुँदैन तर दसैँको नवरात्रीमा महीलाहरुले रातभर झिझिया नृत्य गर्छन् । पुजा आजा भने हुन्छ । घरबाट आमाले पनि उनलाई घर आउन आग्रह गरिरहेकी छन्, तर उनले दसैँमा घर नजाने निधो गरिसके ।
‘दसैँमा घरका साथै आफन्तकोमा मिष्ठान्न परिकार पाक्छ । अनि आफन्तहरुले त्यो खानको लागि बोलाउनुहुन्छ,’ उनले भने, ‘साथीहरुले पनि भारतमा लाग्ने मेला हेर्न जान कर गर्छन् । जाउँ भने कोभिड संक्रमणको डर, नजाउँ भने आफन्त साथीभाइ रिसाउने डर हुन्छ । त्यसैले घर नै नजाने निर्णय गरेँ ।’
काठमाडौंमा उनी काम पनि गर्छन् । पहाडी जिल्लाका साथीहरुले दसैँमा विशेष छुट्टी माग्ने हुँदा उनले आफ्नो छुट्टी उनीहरुलाई दिने निर्णय समेत गरेका छन् । तिहारदेखि छठको समयमा भने उनी घर जाने सुरमा छन् । उनी भन्छन्, ‘त्यसबेला सरकारले लकडाउन गर्यो भने पनि हिँडेर भए नि जान्छु । दसैँमा चाहिँ जादिनँ ।’
उदयपुर गाइघाटकी स्तुती चौधरी पनि यसवर्ष घर नजाने निर्णयमा पुगेकी छन् । रत्नराज्य लक्ष्मी क्याम्पसको पत्रकारिता अन्तर्गत स्नातकोत्तर तेस्रो वर्षमा अध्ययनरत स्तुतीलाई यात्रा गर्दा हुने खतरासँग पैठेँजोरी खोज्न मन छैन । उनी भन्छिन्, ‘लामो यात्रा गरेर घर पुग्दा मलाई कतै कोभिड भयो भने गाउँमा बसेका मेरा बाआमालाई पनि सर्ने हुन्छ । त्यो खतरा मोल्न चाहन्नँ ।’
काठमाडौं विश्वविद्यालयमा जियोम्याट्रिक इन्जिनियरिङको स्नातक प्रथम वर्षमा अध्ययनरत दिपेश पाण्डेले पनि यसवर्ष काठमाडौंमा नै दसैँ मनाउने सोचमा छन् । उनी अहिले कलंकीमा आमा र दाईसँग बस्दै आएका छन् । उनका बुवा भने धनगढी कैलालीमा छन् ।
कोभिडको सन्त्रासका समयमा परिवार नै लिएर यात्रा गर्नु जोखिमपूर्ण भएकाले उनीहरु यात्रा नगर्ने सोचमा छन् । बरु उनका ब्वा धनगढीबाट काठमाडौं आउने सोचमा छन् । 'पहिले दसैँमा धनगढी जाने गाडीको टिकट काट्न टिकट काउन्टरमा लाइन लाग्न जानुपर्थ्यो, अहिले अब नजाने सुर गरियो,’ उनी भन्छन् ।

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

प्रतिक्रिया