सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

राष्ट्रिय सभामा नहोस्‌ 'खड्‌ग' प्रहार

प्रतिनिधि सभा विटघन गरी आफैँ ‘कामचलाउ’मा परिणत सरकारको सिफारिशमा राष्ट्रपतिद्वारा आह्वान भएको संसदको माथिल्लो सदन राष्ट्रिय सभाको अधिवेशन प्रारम्भ हुँदैछ । संविधानतः छ महिनाभित्र अधिवेशन बोलाउनुपर्ने बाध्यात्मक परिस्थिति पूरा गर्न मात्र सरकारले अधिवेशन बोलाएको देखिन्छ । छ महिनाअवधि पुस १८ मा पुग्दै थियो ।

संवैधानिक र संसदीय अभ्यासमा राष्ट्रिय सभाको मात्र एकल अधिवेशन भोगिएको थिएन । त्यहीकारण भोलिदेखि बस्‍ने राष्ट्रिय सभा अधिवेशनले के गर्न सक्छ ? के गर्छ ? कौतूहलता  छ । यद्यपि संविधानतः राष्ट्रिय सभा एक्लैले प्रयोग गर्ने संवैधानिक अधिकार भने न्यून छ । संवैधानिक अधिकार न्यून भए पनि नागरिकका आवाज मुखर गर्न कसैले रोक्न सक्दैन् ।

अर्कातिर सत्तारुढ दल विभाजित भएको हुँदा त्यसको गणितीय असर माथिल्लो सदनमा पर्नेछ । गणितीय आँकडा हेर्ने हो भने राष्ट्रिय सभामा पनि सरकारको बहुमत पुग्दैन । सत्तारुढ दलभित्र रातारात समूह परिवर्तनको खेल सिर्जना नभएको खण्डमा सरकारले चाहेअनुरुप काम राष्ट्रिय सभाबाट पनि हुन सक्दैन । त्यसो हुँदा राष्ट्रिय सभा सत्ताविरोधी नेकपा र विपक्षी दलहरूले सरकारविरुध्द आक्रोश पोख्‍ने थलो बन्‍नेछ ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद सामना गर्न सक्ने राजनीतिक क्षमता भएको भए अकालमै र गैरसंवैधानिक बाटो अवलम्बन गरी प्रतिनिधि सभाको ज्यान लिने थिएनन् । प्रतिनिधि सभामा दुई तिहाइ नजिकको मत पाएका शक्तिशाली प्रधानमन्त्रीले आफूलाई ‘कामचलाउ’मा परिणत गरेको दृश्य दुनियाँमा विरलै मात्र मञ्‍चन हुन्छ । शक्तिशालीबाट र आफै कामचलाऊ परिणत हुँदा जुन ग्लानिबोध प्रधानमन्त्री ओलीमा देखिनुपर्थ्यो, त्यो ग्लानि र लाज पचाएको/दबाएको अवस्था छ ।

आफूलाई कामचलाऊ परिणत गर्न पनि प्रधानमन्त्री ओलीले गैरसंवैधानिक पद्धति अपनाए । संविधानमा आकर्षिक हुनै नसक्ने धारा प्रयोग गरी प्रधानमन्त्री-राष्ट्रपतिको जालसाजीमा प्रतिनिधि सभा विघटन भएको तथ्य छर्लङ्ग छ । प्रतिनिधि सभा विघटनमा संलग्‍न पात्र र तिनका मतियारहरूलाई इतिहासले ‘खलनायक’को रुपमा चित्रण गर्नेछ । मुलुकलाई भड्खालोमा हालेको दृश्यले राष्ट्रप्रति माया-मोह राख्‍नेहरूलाई अधिक पीडा दिन्छ । स्वार्थी र राष्ट्रघाती मात्र यस्ता कदमको पक्षमा उभिन्छन् ।

प्रतिनिधि सभा विघटनमा संलग्‍न पात्र र तिनका मतियारहरूलाई इतिहासले ‘खलनायक’को रुपमा चित्रण गर्नेछ ।

प्रधानमन्त्री प्रतिनिधि सभाबाट जन्मिएका हुन्, त्यही थलोलाई मृत घोषित गरेपछि चरम संकटको अन्धकार युगतिर प्रवेश गरिसकेको छ । विदेशी हस्तक्षेपको जालो फैलन थालेको छ । प्रतिनिधि सभाविहीन हुँदा निम्तिने अराजकता, विदेशी हस्तक्षेप र त्यसबाट सिर्जना हुने राष्ट्रिय संकटको भार यसमा संलग्‍न पात्रले थाम्नु पर्नेछ ।

जसरी ओलीले प्रत्यक्ष मतमा देशभरबाट निर्वाचित भएको वक्तव्य दिए, खासमा त्यसो होइन । जनताको अप्रत्यक्ष र प्रतिनिधिसभाको प्रत्यक्षमा मतमा जन्मिएका हुन् । उनले आफू जन्मिएको थलोप्रति जसरी जवाफदेही बन्‍नुपर्थ्यो त्यो बनेनन् । दुर्भाग्यतः राजनीतिक दुराग्रहसहित त्यो थलोमाथि नै ‘खड्ग’ प्रहार गरेका छन् ।

प्रतिनिधि सभा सिध्याएका प्रधानमन्त्रीले राष्ट्रिय सभालाई गन्‍ने वा मान्‍ने वाला छैनन् । कामचलाउ प्रधानमन्त्री ओलीसँग आलोचना सुन्‍ने धैर्यता नभएको हुँदा खालि संवैधानिक वाध्यता पूरा गर्दै छिट्टै अधिवेशन अन्त्य गर्ने सम्भावना अधिक  छ । त्यो संस्था क्रियाशील भयो भने थोरै भए पनि नागरिकको आवाज जीवन्त रहनेछ ।

कानून निर्माणको पाटोमा राष्ट्रिय सभा एक्लैले धेरै काम गर्ने ठाउँ छैन । किनभने प्रतिनिधि सभा विघटनसँगै संसदमा विचाराधीन विधेयकहरु पूर्णतः निक्रिय हुनेछन्, यहाँसम्म कि राष्ट्रिय सभामै विचाराधीन विधेयकहरुको अस्तित्व पनि ‘शून्य’मा झरेको छ । राष्ट्रिय सभा एक्लैले विधेयक तल-माथि गर्न पाउने अधिकार राख्दैन । यद्यपि मुलुकलाई आवश्यक पर्ने अनगिन्ती विधेयकहरु संसदमा विचाराधीन थिए । जुन विधेयकले कानूनी रुप नपाउँदा राज्य सञ्चालनमै अप्ठ्यारो परिरहेको थियो ।

राष्ट्रिय सभालाई प्राप्त अर्को अधिकार भनेको कुनै कारणवश ‘संकटकाल’ लागू भएर प्रतिनिधिसभा नहुँदाका बखत त्यो अधिकार राष्ट्रिय सभाले प्रयोग गर्न सक्छ । मतदाताप्रति जवाफदेही बन्‍न सक्‍छ । उसका मतदाता भनेका प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख-उप्रमुख हुन् । तर, विगतमा राष्ट्रिय सभा पनि आफ्‍ना मतदाताप्रति उत्तरदायी भएको पाइँदैन । प्रदेश र स्थानीय तहले अनेकन झमेला खेपिरहँदा पनि तिनका समस्यालाई ‘विशेष एजेन्डा’ बनाइएका दृष्टान्त पाइन्‍नन् ।  केवल त्यो थलोलाई ‘माननीय’ बन्‍ने भर्‍याङ मात्र बनाएको आभास हुन्छ । त्यसकारण राष्ट्रिय सभा पनि आफ्‍ना मतदाताप्रति जवाफदेही बन्‍नुपर्छ ।

प्रधानमन्त्री ओली र उनको वृत्तलाई संवैधानिक र कानूनी शासनको मोह जागेको भए यसरी अहंकारी रुप प्रदर्शन गर्दै प्रतिनिधिसभा विघटन गर्ने नै थिएनन् । प्रतिनिधिसभा नहुँदा सरकार गैरसंवैधानिक बेलगाम यात्रामा हिँडेको छ । राज्य यसरी बेलगाम यात्रामा हिँडेपछि उत्पन्‍न हुन सक्ने संकटप्रति राष्ट्रिय सभा गम्भीर बन्‍नुपर्छ । त्यो उत्तरदायित्व राष्ट्रिय सभाले बहन गर्न सक्छ कि सक्दैन भन्‍ने परीक्षण यही अधिवेशनमा हुनेछ ।