शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

पाँच महिनामै एक खर्बको निर्यात

काठमाडौँ– चालु आर्थिक वर्षको पाँच महिनामा नै एक खर्ब रुपैयाँभन्दा धेरैको निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको निकासी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०५.६१ प्रतिशतले बढेर एक खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । 

त्यस्तै, आयात ५९.५ प्रतिशतले बढेर कुल ८ खर्ब ३८ अर्ब रुपैयाँको आयात भएको छ । निर्यात बढेपनि आयात उच्च हुँदा व्यापार घाटा गत आर्थिक वर्षको ५४.७ प्रतिशतले बढेर ७ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको हो । 

एक खर्बको वार्षिक निकासी हुन लागेको गत आर्थिक वर्षदेखि हो । सरकारले एक खर्ब रुपैयाँको निकासी लक्ष्य राखेको एक दशकपछि गत वर्ष पहिलोपटक एक खर्ब रुपैयाँ पुगेको हो । 

पछिल्ला वर्षहरूमा भटमासको तेल र पाम आयलको निकासी वृद्धि भएसँगै निकासी बढेको हो । पछिल्लो पाँच महिनामा नेपालले ३० अर्ब ५५ करोड रुपैयाँको सोयाबिन तेल र २७ अर्ब ४२ करोड रुपैयाँको पाम तेल निकासी गरेको छ । यी दुई वस्तुको कुल निर्यातमा ५६.३४ प्रतिशत हिस्सा रहेको छ ।