शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

तीन करोडको सुन्तला उत्पादन हुने ठाउँमा ५० लाखको मात्रै

पर्वत- पर्वतमा अज्ञात रोगका कारण धमाधम सुन्तलाका बोट मर्न थालेपछि कृषक समस्यामा परेका छन् । विगत तीन वर्षदेखि फूल फुल्ने र फल पाक्ने बेला रोगको फैलिँदा मोदी गाउँपालिका–२ देउपुरका कृषकले समस्या भोग्दै आएका छन् ।

सुरुमा केही बोटमा देखिएको यो समस्या यस वर्ष भने गाउँभरि फैलिएको छ । स्थानीय माछापुच्छ्रे सुन्तला उत्पादक सहकारीका अध्यक्ष दाताराम चापागाईंले दुई वर्षअघि बोट मर्ने र फल झर्ने समस्याका कारण फलेकामध्ये २० प्रतिशत मात्रै सुन्तला उपयोग्य रहेको बताए ।

उनले ‘टाइफुलेट’ जातको भाले किराले सुन्तलाको फूल र बचिला झार्ने तथा पाक्ने बेलामा पनि ‘ग्रिन सिटासिल्ला’ नामको भाइरसका कारण फल झर्ने गरेको जानकारी दिए ।

‘वर्षौंदेखि आर्थिक उपार्जनको मुख्य स्रोतको रुपमा रहेको सुन्तलाखेतीबाट आम्दानी घटेपछि किसान चिन्तित बनेका छन्, पहेँलपुर हुने यो सिजनमा रित्ता बोट छन्,’ स्थानीय बाबुराम बाबुराम तिमिल्सिनाले भने ।

स्थानीय अगुवा किसान भूमिराज शर्माले कुनै समय देउपुरमा तीन करोडबराबरको सुन्तला उत्पादन भएको स्मरण गर्दै अहिले गाउँभरि ५० लाखको पनि सुन्तला नभएको बताए ।

‘यो गाउँमा मात्रै ७०० मध्ये झण्डै ४०० परिवारले व्यावसायिक सुन्तलाको खेती गर्दै आएका छन्,’ उनले भने, ‘सुरुसुरुमा सुन्तला बजारसम्म पुर्‍याउन समस्या थियो । व्यावसायिक सुन्तला खेतीमा लाग्नेको सङ्ख्या पनि बढ्दै गए पनि किसानले आफूखुसी बिरुवा ल्याएर रोप्न थालेपछि समस्या आएको छ ।’