६ वर्षमा पनि बनेन हापुरखोलाको पुल

दाङ - दाङको कोठरी–डुरुवा जोड्ने हापुरखोलाको पुलको निर्माण कार्य विगत ६ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण सुरु भएको ६ वर्ष बितिसक्दा पनि अझैसम्म निर्माण कार्य पूरा हुन सकेको छैन ।
समयमा पुल नबनेका कारण स्थानीयवासीलाई आवतजावतमा समस्या भएको बताइएको छ । निर्माण कार्य सुरु भएको ६ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा स्थानीयवासी सास्ती भोग्न बाध्य भएका छन् ।
विसं २०७२ मा सो पुलको निर्माण सम्झौता भएको थियो । निर्माण व्यवसायीको लापरवाही र पुल बन्ने स्थानमा जग्गा विवादले गर्दा पुल निमार्णको काममा ढिलाइ भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए ।
उनका अनुसार उक्त पुल निर्माणका लागि ६ वर्षअघि रु १३ करोडमा सूर्य कन्ट्रक्सन निर्माण कम्पनी सुर्खेतलाई जिम्मेवारी दिएको र सो कम्पनीले निर्माणको काम बीचैमै छाडेर दोस्रो कम्पनीलाई निर्माण गर्न जिम्मा दिए पनि सो कम्पनी सम्पर्कविहीन भएपछि निर्माण कार्य रोकिएको हाे ।
कार्यालयबाट ठेकेदारलाई सम्पर्क गरी तत्काल दुई हप्ताभित्र काम सुरु नगरेमा कम्पनीलाई कालोसूचीमा राख्ने र सूचना प्रकाशित गर्ने चेतावनीसमेत दिएको उनको भनाइ छ ।
प्रमुख जैसवालले जग्गाधनीले मुअब्जा खोजेकाले निर्माण कार्यमा अवरोध भएको पनि बताए । सडक डिभिजन कार्यालय दाङका इञ्जिनीयर तथा सूचना अधिकारी अमीर सुवेदीले हालसम्म उक्त पुलको काम ४० प्रतिशत मात्रै सम्पन्न भएको बताए । तुलसीपुर उपमहानगरपालिका– १५ का सूर्य चौधरीले पुलको अभावमा वर्षातका समयमा वारपार गर्न निकै कठिनाइ व्यहोर्नु परेको गुनासो गरे ।
उक्त पुलको निर्माण सम्पन्न भएमा तुलसीपुर उपमहानगरपालिका– १४ र १५ का हजारौँ स्थानीय बासिन्दा लाभान्वित हुनेछन् । यसअघि सडक डिभिजन कार्यालय दाङले गत आर्थिक वर्षको असार मसान्तमा काम सक्ने गरी काम अगाडि बढिरहेको बताएको थियो तर अझैसम्म उक्त पुल निमार्णको काम अलपत्र अवस्थामा नै छ । रासस

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया