खोटाङमा धान र अलैँचीको उत्पादन घट्यो

दिक्तेल - गत वर्षको तुलनामा यस वर्ष खोटाङमा धान उत्पादन करिब पाँच हजार मेट्रिकटन घटेको छ । जिल्लाभर १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जिल्लामा यस वर्ष सत प्रतिशत रोपाइँ भए पनि गत वर्षको तुलनामा यो वर्ष चार हजार ६४३.२८ मेट्रिकटन उत्पादन घटेको हो ।
आर्थिक वर्ष २०७७/७८ मा २९ हजार ७९४.३८ मेट्रिकटन धान उत्पादन भएको जिल्लामा आव २०७८/७९ मा उत्पादन घटेर २५ हजार १५१/१० मेट्रिकटन मात्र उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए ।
“यस वर्ष समयमै वर्षा भएका कारण जिल्लाभर १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा उन्नत जात र स्थानीय जातका धान समयमै रोपाइँ भएको थियो”, उनले भने, “बेमौषमी वर्षा र हावाहुरीका कारण फूल खेल्दै गरेको धानको बोट ढलेर खेतमै नष्ट हुँदा यस वर्ष उत्पादनमा कमी आएको हो ।”
स्थानीय जातका धान ढिला फुल्ने गरेकाले पनि बेमौषमी वर्षा र हावाहुरीले यस वर्ष धानबालीमा ठूलो क्षति भएको किसानले बताएका छन् । बेमौषमी वर्षा र हावाहुरीका कारण पाँच हजार ५२२/६२ हेक्टर अर्थात् ४२.८२ प्रतिशत क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति हुन पुगेको हो ।
जिल्लामा यस वर्ष धान उत्पादनमा कमी भएपछि स्थानीय जातका धानको मूल्य अकासिने अनुमान गरिएको छ । गत वर्ष प्रतिपाथी रु १२० मा बिक्री भएको धान यस वर्ष बढेर रु १६० पुगेको कृषकले बताएका छन् ।
जिल्लामा यस वर्ष अलैँची उत्पादनमा पनि कमी आउने देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अलैँची उत्पादनको तथ्याङ्क सङ्कलन हुन बाँकी रहे पनि करिब ३०/३५ प्रतिशतले उत्पादन घट्ने अनुमान गरिएको ज्ञान केन्द्रका निमित्त प्रमुख राईले जानकारी दिए ।
एक हजार ४०२ हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि कृषकको भनाइअनुसार यो वर्ष अलैँची उत्पादन कम भएको र उत्पादन घटेर जाने निश्चित भएको छ । दश स्थानीय तह रहेको जिल्लामा आव २०७७/७८ मा ७८७.३६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो ।
गत वर्ष जिल्लामा प्रतिहेक्टर ०.७४ मेट्रिकटन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्द्रका अनुसार गत वर्ष एक हजार ६४ हेक्टरमा लगाइएको अलैँचीले फल दिएको र बाँकी ३३८ हेक्टरमा भने बिरुवा नै थियो ।
यस वर्ष अलैँचीको उत्पादन घटे पनि मूल्य भने बढेको कृषकले बताएका छन् । मूल्य बढे पनि उत्पादन घटेपछि धान खेत मासेर व्यावसायिकरूपमा अलैँची खेती सुरु गरेका कृषक चिन्तित भएका छन् । रासस

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया