शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

शेखरमा सर्‍यो शशांकले धान्न नसकेको कोइराला परिवारको विरासत

नेपाली कांग्रेसको नेतृत्व चयनका लागि भएको १४औं महाधिवेशनमा सभापतिमा कुनै उम्मेदवारको स्पष्ट बहुमत आउन नसकेपछि पुनः दोस्रो चरणमा मतदान हुँदैछ । प्रधानमन्त्री समेत रहेका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले कुल ४ हजार ६ सय ८१ मतमध्ये ४८.२४ प्रतिशत अर्थात् २,२५८ मत प्राप्त गरेका थिए । देउवा पक्षधर नेताहरूले सोमबार मतदान सम्पन्न भएपछि ‘एक्जिट पोल’मा ५१ प्रतिशत मत ल्याउने अनुमान गरेका थिए । अनुमान अनुसारको नतिजा आएन । यो महाधिवेशनमा देउवा सबै हिसाबले सहज स्थितिमा हुँदा पनि उनले पहिलो चरणमा प्राप्त गरेको मतले नेपाली कांग्रेसका कार्यकर्ताले नेतृत्व परिवर्तन चाहेका छन् भन्ने देखाउँछ । 

दोस्रो चरणको नतिजा देउवाकै पक्षमा आएपनि उनले अन्तर्मनले उनलाई परिवर्तनका पक्षधर कार्यकर्तालाई न्याय गर्नतर्फ प्रेरित गर्छ । देउवाका लागि १३औं महाधिवेशनमा ११ मत नपुगेर दोस्रो चरणका लागि निर्वाचन भएको थियो, यसपटक उनलाई यसपटक अघिल्लो महाधिवेशनको भन्दा झण्डै साढे सात गुणा मत पुगेन र सभापति चयन दोस्रो चरणमा प्रवेश गर्‍यो । अब यो साढे सातका निर्णायक प्रकाशमान सिंह बनेका छन् । सिंह र शेर मिल्छन् कि सिंह शेखरसँग मिल्छन् । त्यो लेनदेन चल्दैछ । सबैको प्रयास छ, सिंहलाई मिलाउने । उनी अहिले हुकुमको एक्का बनेका छन् । त्यो एक्का उनले जता फाल्छन्, पासा त्यतै पल्टिन्छ ।

प्रकाशमानलाई एकातिर नेतृत्व परिवर्तन गर्छौं भनेको वचनको बन्धन छ भने अर्कोतिर शेखरलाई सघाउँदा अर्कोपटक नेतृत्वको प्रतिस्पर्धामा युवाहरु आउने हुँदा आफू रिङआउट भइने चिन्ता छ । देउवालाई समर्थन गरे कम्तीमा अर्कोपटक सभापतिमा सहयोग पाइन्छ भन्ने पनि छ ।  अब बाँकी निर्णय उनैलाई गर्न दिउँ । 

नेतृत्व चयनबाहेक पनि महाधिवेशनका अनेकन् यस्ता आयामहरू छन् । जसबारे कम चर्चा हुनेगर्छ, तर त्यसका अर्थ गहिरा हुन्छन् । यो महाधिवेशनको नतिजा अब जे सुकै आओस् । नेपाली कांग्रेस पुनः देउवा र कोइराला समूहमा विभाजित भइरहेको छ । विगतमा पनि देउवा र कोइरालामै राख्न खोजिएको थियो । शेरबहादुर देउवा र शशांक कोइरालाको समीकरणले पार्टीमा देउवा–कोइराला समानान्तर सत्ता रहन्छन् भन्ने अनुमान थियो । तर शशांकको बुताबाट कांग्रेसमा कोइरालाहरूको विरासत धानिएन । शशांक केबल सभापति देउवाका एक ‘फाइटर प्रडक्ट’ जस्ता भएर उभिए । १४औं महाधिवेशनमा दाजु शेखर र सभापति शेरबहादुर देउवा दुवैको प्यानलमा केन्द्रीय सदस्य रहेका शशांकले महाधिवेशन स्थलमा उभिएर भने, ‘मलाई चारै ओटा समूहले मन पराए ।’ यस्ता ढुलमुले, अस्थिर, सांगठनिक र वैचारिक क्षमता कमजोर भएका, कुनै उर्जा बाँकी नभएर शिथिल भएका र जतासुकै पनि घुलनशील भइहाल्ने शशांकबाट कोइराला परिवारको विरासत शेखरमा सरेको छ । 

प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गरेर देउवा नै आगामी एक कार्यकालका लागि सभापति रहेपनि शेखर नेपाली कांग्रेसभित्र जबर्दस्त नेता भए । यो महाधिवेशनको अर्को मूलभूत पक्ष महामन्त्री पदका लागि भएका मतदानको ट्यांकी खुल्न बाँकी छ । तर सभापतिमा भएको मतदान ढाँचाले महामन्त्री युवाको काँधमा गयो भन्ने पनि संकेत गर्छ । खैर ! यसबारे नतिजा आइसकेपछि नै चर्चा गर्नु राम्रो हुन्छ । 

यो महाधिवेशनमा सभापति देउवाबाट केही कमजोरीहरू पनि भए । उनी आफूमात्र नेतृत्वमा आउनेतर्फ लागे । त्यो पनि पहिलो चरणमै । त्यसका खातिर उनले आफू पक्षमा सतीसालझैं उभिएका, साथ सहयोग गर्दै आएका बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मा, एनपी साउदहरूलाई नेतृत्वमा अघि बढाएनन् । नेतृत्वको कर्तव्य पनि हो– नेतृत्व विकासको अवसर दिनु । विमलेन्द्र निधि पनि यही झोकमा बाहिरिए किनकी देउवाले स्पष्ट तिम्रो पालो १५औं महाधिवेशनमा मात्र भनिदिए । त्यसबाट विच्किएका निधिको उद्देश्य थियो- आफू सभापतिको उम्मेदवार बनेर जसरी पनि सभापति चयनको प्रक्रियालाई दोस्रोचरणमा लैजाने ।

आफ्ना पक्षमा हात र साथ दिदैं आएका नेताहरूको बदलामा देउवाले कृष्ण सिटौलालाई समाते । देउवाको एउटा राम्रो या नराम्रो पक्ष जे भने पनि उनी कोहीसँग अनुग्रहीत भइहाल्छन् । सिटौलाले १३औं महाधिवेशनमा दोस्रो चरणमा सभापतिका लागि दिएको समर्थनको बदलामा उनले देउवासँग अनेकन फाइदा उठाइसके । यद्यपि देउवा सिटौलासँग अनुग्रहीत नै रहे, यो महाधिवेशनमा पनि सहकार्य गरे । त्यो उनका लागि प्रत्युत्पादक भयो । अर्कोतर्फ उनले विजय गच्छदारलाई उपसभापति बनाए, प्रकाश शरण महतलाई महामन्त्रीका रूपमा अघि सारे । देउवा समूहका परिपक्व र नेतृत्व क्षमता भएका नेताहरूमाथि उनले मजाक गरे । यद्यपि, उनीहरूले देउवासँग विद्रोह गरेनन्, धर्म नै राखे । देउवालाई जसरी पनि सभापति निर्वाचित गराउन खाण प्रकाशमानसँग वार्तामा जुटिसकेका छन् । 

यो महाधिवेशनको अर्को आयाम भनेको पर्दामा अगाडि कतै नदेखिएका गोविन्दराज जोशी, पुष्करनाथ ओझा जस्ता नेताहरूको नैतिक जित पनि हो । सधैं सत्ताको तर मार्ने र आफूले पद नपाउँदा मतदान समेत बहिष्कार गर्ने रामचन्द्र पौडेल त्यागी निस्किए । अनि उनकै कुण्ठाका कारण जोशी र ओझा जस्ता ‘भेट्रान’ नेताहरूले कारबाहीको भागी बन्नुपर्ने ? 

यो महाधिवेशनले रामचन्द्र पौडेललाई अभिभावकभन्दा पनि स्वार्थी र आत्मकेन्द्रित व्यक्तिका रूपमा अझै बढी उद्घाटीत गर्‍यो । 

अनि सबैभन्दा महत्वपूर्ण, महामन्त्री भएर पनि आफ्नो हैसियत थाहा नपाउने, एजेण्डा, संगठन र गतिहीन पात्र बीपी पुत्र शशांकलाई केन्द्रीय सदस्य र केन्द्रीय सदस्य रहेका शेखर कोइरालालाई सम्मानजनक हैसियत सहित कोइराला परिवारको विरासतमा स्थापित गरेको छ ।