यूरोपियन इन्भेष्टमेन्ट बैंकले रोक्यो ८ करोड डलर
आयोजना भाँड्न लागिपरे एनजीओ र विदेशी संस्था

काठमाडौं : मर्स्याङ्दी कोरिडर २२० केभी प्रसारण लाइन आयोजनाको मुख्य ऋण लगानीकर्ता यूरोपियन इन्भेष्टमेन्ट बैंकले स्थानीय वासिन्दाले उजुरी दिएको भन्दै दुई वर्षदेखि निकासा रोकेको छ ।
९ करोड अमेरिकी डलर ऋण दिएको उक्त बैंकले हालसम्म एक करोड डलर मात्र निकासा गरेको छ । आयोजना र अर्थ मन्त्रालयले चार करोड ५० लाख डलर निकासाका लागि अनुरोध गरेको आयोजना प्रमुख चिरन्तन राणाले बताए ।
विभिन्न स्थानीय वासिन्दाका नाममा केही गैरसरकारी संस्था र विदेशी संस्थाहरुले बैंकमा पटक-पटक उजुरी गरेपछि आयोजना निर्माणका लागि बैंकले दिनुपर्ने पैसाको निकासामा रोक लगाएको हो । मस्र्याङ्दी र यसका सहायक नदीहरुमा निर्माण हुने १६०० मेगावाटको जलविद्युत्लाई राष्ट्रिय ग्रीडमा जोड्ने देशकै महत्वपूर्ण प्रसारण लाइन हो ।
प्रसारण लाइनको मार्गधिकार (राइट अफ वे) मा पर्ने जग्गा शतप्रतिशत क्षतिपूर्ति पाउनुपर्ने, आयोजनाले आइएलओ १६९ को पालना नगरेको लगायतका विषय उठाई संघर्ष समिति खडा गरी बैंकमा उजुरी हाल्दै आएको र बैंकले निकासा रोकेको आयोजना प्रमुख राणाले बताए ।
गण्डकी प्रदेश मात्र नभई देशकै रुपान्तकारी पूर्वाधारको रुपमा रहेको यो आयोजनामा बैंकले हालसम्म तीन किस्ता मात्र निकासा गरेको राणा बताउँछन् । कूल १६ अर्ब रुपैयाँ लागत रहेको यो आयोजनामा यूरोपियन इन्भेष्टमेन्ट बैंकको मात्र करिब ११ अर्ब रुपैयाँ (नौ करोड अमेरिकी डलर) लगानी छ ।
बैंकले निकासा रोकेपछि आयोजनाले विद्युत् प्राधिकरणसँग ‘पैंचो मागेर’ गर्जाे टारिएको आयोजना प्रमुख राणाले बताए । ‘अहिले प्राधिकरणसँग मागेर काम चलाइरहेका छौं,’ राणाले आइतबार इकागजसँग भने ।
उनले आयोजनाले जनतासँग मिलेर काम गरिरहेको र शत प्रतशत क्षतिपूर्ति कसैले पनि नमागेको बताए । ‘आयोजनाको विरोध नै गर्ने पेशा बनाएकाहरुले संघर्ष समिति गठन गरी उजुरी दिएका छन्,’ उनले भने, ‘बैंकले पनि विस्तारै कुरा बुझ्दै गइरहेको छ र निकासाका लागि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।’
लयर्स एसोसिएसन फर हुमन राइट्स या नेपलिज इन्डिजेनियस पिपुल्स र विदेशी संस्था एकाउन्टेविलीटी काउन्सिलले मानव अधिकार र आदिवासी जनजातिको हक अधिकार भन्दै यस आयोजनाको विरुद्ध लागिपरेको छ । युरोपस्थित एक संस्थाले उजुरी लेख्ने, बैंकमा बुझाउने, नेपालस्थित आयोजनास्थलमा आएर भिडियो बनाउने काम पनि गर्दै आएको छ ।
लमजुङको उदीपुरदेखि चेपेसम्मका ८५ प्रतिशत स्थानीय वासिन्दाले मुआब्जा लिइसकेको पनि राणाले बताए । उनले १७ वटा वडाका वडा अध्यक्षहरुको भेलामा कसैले पनि शत प्रतशित नमागेको बरु २१ देखि २५ प्रतिशतसम्म क्षतिपूर्ति हुनुपर्ने भनाइ राखेको उल्लेख गरे । मार्गअधिकारमा पर्ने जग्गाकाको लागि १० प्रतिशत र प्रसारण टावरले ढाक्ने जग्गाका लागि शत प्रतिशत मुआब्जा दिने प्रावधान छ ।
टाठाबाठाहरुले अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. १६९ लाई गलत व्याख्या गरेर आदिवासी तथा जनजातिको प्राकृतिक स्रोत साधनमा पूर्ण अधिकार हुने भन्दै विरोध गर्दै आएका छन् । जबकि यो महासन्धिले आदिवासी तथा जनजातिका सरोकारसम्म प्रस्तुत गरेको र उनीहरुका लागि मात्र विशेषाधिकारको व्यवस्था नगरेको विज्ञहरु बताउँदै आएका छन् । प्राकृतिक स्रोत साधनमा आदिवासी जनजातिको पूर्ण अधिकार हुने दावी गर्दै आएकाले विवाद सिर्जना हुने गर्छ ।
यो आयोजनामा पनि महासन्धि नं. १६९ लाई ढाल बनाएर आयोजनालाई कमाइ खाने भाँडो बनाउनेहरु लागि परेको आयोजनाको बुझाइ छ । आयोजना प्रमुख राणाका अनुसार अझै पनि कतिपय ठाउँमा मार्गधिकारको विवाद रहेको र क्रमशः छलफल गर्दै समाधान गर्ने प्रक्रिया रहेको छ ।
यो आयोजनामा तीनवटा प्याकेज छन् । पहिलो प्याकेजअन्तर्गत लमजुङको उदीपुरदेखि चितवनको भरतपुरसम्म ६७ किलोमिटर २२० केभीको प्रसारण लाइन निर्माण हो । यसको ठेक्का चिनियाँ कम्पनी पिङ्गाओ ग्रुपले पाएको छ । यो प्याकेजमा पर्ने सबै टावरको डिजाइन र परीक्षण कार्य सकिइसकेको छ ।
आयोजनाको दोस्रो प्याकेजअन्तर्गत उदीपुर र भरतपुरमा २२०/१३२ केभीको सवस्टेशन निर्माण छ । यसको ठेक्का भारतको लार्जन एण्ड टर्बाे कन्स्ट्रक्सनले पाएको छ । तेस्रो प्याकेज अन्तर्गत मनाङको धारापानीदेखि लमजुङको उदीपुरसम्म ४६ किलोमिटर २२० केभीको डब्बल सक्र्युट प्रसारण लाइन निर्माण छ । यसको ठेक्का चिनियाँ कम्पनी टीबीईएले पाएको छ ।
आयोजना प्रमुख राणाका अनुसार हालसम्म ३४.७७ प्रतिशत निर्माण कार्य पूरा भएको छ भने आयोजनाले कूल लागतको २५.५३ प्रतिशत खर्च गरेको छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया