बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

उद्योग वाणिज्य महासंघले नव उत्थान सम्मेलन गर्ने

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघले २९ गते बुधबार काठमाडौँमा कोभिड पश्चातको नव उत्थान सम्मेलन आयोजना गर्ने भएको छ । कोभिड-१९ पछि अर्थतन्त्रलाई अझ बढी गतिशील तथा चलायमान बनाउन हुनुपर्ने व्यवस्थाहरूसहित छलफल गर्ने उद्देश्यले महासंघले उक्त सम्मेलनको आयोजना गर्न लागेको हो ।

 कोभिड-१९ बाट बढी प्रभावित क्षेत्रहरू पर्यटन तथा मनोरञ्जन, साना, घरेलु तथा मझौला उद्यम व्यवसाय, निर्यातका साथै बैंकिङ क्षेत्रमा केन्द्रित रहेर उक्त सम्मेलन आयोजना गरिने छ । सम्मेलनको मुख्य शीर्षक ‘बदलिँदो परिस्थितिमा तीव्र र दिगो आर्थिक वृद्धिको विकास’ रहेको छ ।

अर्थतन्त्रलाई पुन: चलायमान कसरी बनाउने, समस्या समाधानका उपायहरू के–के हुन सक्छन, थलिएको व्यवसाय क्षेत्रलाई पुनरूत्थान मात्र नभई व्यवसायमा थप उर्जा कसरी भर्न सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित हुने महासंघले जनाएको छ ।

सम्मेलनको प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्मा रहने छन् । महासंघको सचिवालय टेकुमा सम्मेलन हुनेछ । सम्मेलनको उद्घाटन शत्रमा अर्थमन्त्री शर्मा, महासंघका अध्यक्ष शेखर गोल्छा, आइएलओ नेपालका निर्देशक डा. रिचर्ड हवार्ड र महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सम्बोधन गर्ने महासंघले जनाएको छ । उद्घाटन पछिको पहिलो शत्रको अध्यक्षता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्नेछन् । महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले निर्यात र बैकिङ क्षेत्रमा कार्यपत्र प्रस्तुुत गर्ने र उक्त शत्रमा नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले आफनो धारणा राख्नेछन् ।

सम्मेलनबाट क्षेत्रगत रूपमा आएका सुुझावहरूलाई समेटी तत्काल कार्यान्वयनमा लैजान सरकारका सम्बन्धित अधिकारीहरू समक्ष पेश गरिने कार्यक्रम छ । कार्यक्रममा सरकारी अधिकारीहरू, वित्तिय क्षेत्रका पदाधिकारीहरू, महासंघका पदाधिकारीहरू, पूर्व अध्यक्षहरू, कार्यकारिणी समितिका सदस्यहरू, परिषद्का पदाधिकारीहरू, समिति तथा फोरमका सभापतिहरू, समिति फोरमका पदाधिकारी, सदस्य एवं सल्लाहकारहरू, उद्यमी व्यवसायीहरू, संचारमाध्यमको सहभागिता रहने महासंघले जानकारी दिएको छ ।