मंगलबार १३ जेठ, २०८२
Tuesday, May 27, 2025

मिर्गौला पीडितलाई दुई लाख सहयोग

तनहुँ- तनहुँ समाज हङकङले दुवै मिर्गौला पीडित तनहुँको व्यास नगरपालिका–९ भोटेनीका मीनबहादुर गुरुङलाई आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौला फेल भई उपचारका क्रममा रहेका गुरुङलाई समाजका तर्फबाट दुई लाख ३० हजार ६१२ आर्थिक सहयोग गरिएको हो । 

उक्त सहयोग समाजका पूर्वअध्यक्ष भीमराज गुरुङ र निवर्तमान अध्यक्ष जङ्गबहादुर थापाले पीडित गुरुङलाई हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै समाजका पूर्वअध्यक्ष गुरुङले सामाजिक काम गर्दै आएको समाजले आफ्नो क्षमताले भेटेसम्म विभिन्न रोगबाट पीडित भई उपचारमा रहेका बिरामीहरुलाई सहयोग गर्ने बताए । निवर्तमान अध्यक्ष थापाले तनहुँ समाज हङकङले जहिले पनि दीनदुखीको दुःखमा साथ दिँदै आएको बताए । 

यसअघि पनि समाजले तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ घर भएका दुईजना मिर्गौला पीडितलाई चार लाख ५७ हजार आर्थिक सहयोग गरेका थियो । दुवै मिर्गौला फेल भई उपचारका क्रममा रहेका ४१ वर्षीय लुमबहादुर रिमालीलाई एक लाख ८२ हजार आठ सय र ३६ वर्षीय नेपालीलाई दुई लाख ७४ हजार दुई सय सहयोग गरिएको थियो । 

समाजले तनहुँमा विगत दश वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ । रासस