सोमबार १२ जेठ, २०८२
Monday, May 26, 2025

नेपालले गरेको पुनर्निर्माण अन्तर्राष्ट्रिय समुदायका लागिसमेत अनुकरणीय : राष्ट्रपति भण्डारी

काठमाडौँ - राष्ट्रपति विद्यादेवि भण्डारीले ०७२ सालको भूकम्पपछिको पुनर्निर्माणका क्रममा नेपालले प्राप्त गरेको अनुभव अन्तर्राष्ट्रिय समुदायका लागिसमेत अनुकरणीय हुने बताएकी छन् । बुधबारबाट काठमाडौंमा सुरू नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ०७८ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताउकी हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणसम्बन्धी सबै पक्षलाई संलग्न गराई तयार पारेको दस्तावेज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षेत्रमा लागिपर्ने जो कसैका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ छ । भावी पुस्तालेसमेत सो भूकम्पपछिको पुनर्निर्माण कार्य अनुकरण गर्नलायक रहेको उनले बताइन् । 

‘पुनर्निर्माणका क्रममा हामीले प्राप्त गरेको अनुभव तथा सिकाइ अन्तर्राष्ट्रिय समुदाय तथा भावी पुस्ताका लागिसमेत अनुकरणीय छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँगसम्बन्धित सबै पक्षलाई संलग्न गराई तयार पारेको दस्तावेज, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षेत्रमा लागिपर्ने जो कसैका लागि महत्त्वपूर्ण ज्ञानका भण्डारका रूपमा रहनेछन्,’ उनले भनिन्, ‘हामीलाई दुःख परेका बखत साथ दिने अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो अनुभव र सिकाइ साटासाट गर्ने, भविष्यमा अत्यन्तै महत्त्वपूर्ण छ भन्ने मैले ठानेको छु । म यस सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु ।’