सोमबार १२ जेठ, २०८२
Monday, May 26, 2025

चरिकोट–मुडे सडक अलपत्र पारेको भन्दै विभागमा धर्ना दिन पुगेका स्थानीय प्रहरी नियन्त्रणमा

काठमाडौँ- दोलखाको चरिकोट–मुडे सडक विस्तार तथा कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारमाथि कारबाही हुनुपर्ने भन्दै सडक विभागमा धर्ना दिन पुगेका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

२०७४ भित्र सम्पन्न हुनुपर्ने उक्त निर्माण कार्य अझै पनि सम्पन्न नभएको भन्दै सो क्षेत्रका स्थानीय र सरोकारवालाहरु मंगलबार ललितपुरको चाकुपाटस्थित विभागमा धर्ना दिन पुगेका थिए । 

धर्नाका क्रममा उनीहरुले विभागको गेटमा बसेर नाराबाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले चरिकोट–मुडे सडक चाडो कालोपत्रे गर, ६ बर्षदेखि दोलाखावासीले भोगिरहेको बिचल्लीबाट मुक्ति दे लगायतका नारा लगाएका थिए ।

यसअघि सोमबार चरिकोट–मुडे सडक विस्तार संघर्ष समितिसँगको छलफलका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले समयमा नै सडक निर्माण नगर्ने ठेकेदारसँगको सम्झौता तोड्ने बताएका थिए ।