सोमबार १२ जेठ, २०८२
Monday, May 26, 2025

नेपालमा पश्‍चिमी वायुको प्रभावले चिसो बढ्‍ने, सतर्क रहन विज्ञहरूको सुझाव

फाइल तस्‍बिर

काठमाडौँ - नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै सतर्क रहन विज्ञहरूले सचेत गराएका छन् । पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने र त्यस वायुले पृथ्वीको सतह नजिकै बसिरहने भएकोले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरूले सचेत गराएका हुन् ।

पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रसहित देशभर हावा प्रवाह सुचारुरूपमा हुन नसक्दा यसको सीधा असर जनस्वास्थ्यमा पर्ने भएको भन्दै विज्ञहरूले त्यसतर्फ तयारी थाल्न सरकारलाई सुझाव दिएका हुन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जलवायुजन्य विपद्‍बाट बच्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक रणनैतिक तयारी थाल्नुपर्ने बताए ।

उनले भारतमा हरेक वर्षमा ४ वटा चक्रवातहरू आउने र त्यसको असर नेपालमा पनि पर्ने भएकोले जनताको स्वास्थ्य सुरक्षाका लागि सचेतनासहितको चरणवद्ध तयारी थाल्नुपर्ने बताए। मास्कले कोभिड साथसाथै वायु प्रदूषणबाट पनि बचाउने भएको भन्दै उनले अहिले जीवन बचाउने पद्धति भनेकै मास्क भएको र यसको अनिवार्य प्रयोग गर्न पनि आग्रह गरे ।

वायु प्रदूषण बढेको बेला घातक हावाको तह पृथ्वी नजिक हुने भएकोले सो समयमा घरबाहिर ननिस्किन आग्रह गर्दै उनले अत्याधिक वायुप्रदूषण भएमा विद्यालय बन्द गर्नुपर्ने स्थिति आउनसक्ने तर्फ सरोकारवालाहरूलाई सचेत गराए । डा. उप्रेतीले धेरै प्रदूषण गराइरहेका उद्योगधन्दा आलोपालो गरेर चलाउने, धेरै प्रदूषण गराउने सवारीसधानहरू बन्द गर्नेलगायतका काम गरेमा प्रदूषणबाट बच्न सकिने बताए । डा. उप्रेतीले राष्ट्रिय आपत्कालीन केन्द्रले आउँदै गरेको जोखिमलाई मध्यनजर गरी त्यसबारेमा आम नागरिकहरूलाई सचेत गराउन आवश्यक रहेको बताए । उनले वायुप्रदूषणलाई बेवास्ता गरेमा यसले मृत्युदर बढाउने चेतावनीसमेत दिए । वायुप्रदूषणजन्य विपद्बाट बच्न बहुप्रकोपीय उपाय अपनाउन पनि उनले आग्रह गरे ।

‘भारतमा प्रत्येक वर्ष ४ वटा तुफान आउने गर्छ, भारतमा आएको तुफानले नेपालमा असर जहिल्यै पनि परिरहेको अवस्था हुन्छ, पश्चिमी वायुको प्रकोप नेपालमा जहिल्यै देखिन्छ, त्यसको अर्थ के हो भने मरुभूमिबाट आउने हावा भएको हुनाले यसमा पानीको मात्रा कम हुन्छ,' उनले भने, 'धुलोको मात्रा बढी हुन्छ, यो उच्च हिमाली क्षेत्रमा धेरै असरदार साबित हुन्छ, काठमाडौं जस्तो उपत्यकामा हावाले ठेल्न सक्दैन, जसकारण असर धेरै समयसम्म रहिरहन्छ । यसले मानिसको स्वास्थ्यमा धेरै असर गर्दछ । वायुप्रदूषण बढेमा एक नम्बरमा के गर्ने, दुई नम्बरमा के गर्ने भन्ने सोच्नुपर्छ । विद्यालयहरू बन्द गर्नुपर्ने हुनसक्छ, चलिरहेका उदोगधन्दाहरू आलोपालोमा सञ्चालन गर्नुपर्ने हुनसक्छ, सडकमा चल्ने, एकदमै प्रदूषण गर्ने त्यसलाई पनि हटाउनु पर्ने हुनसक्छ । धेरै नै प्रदूषण भयो भने जस्तो भारतले हार्ड मेजर अपनाएको छ, त्यस्तोमा पनि जानुपर्ने हुनसक्छ ।’

यता राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी डा. डिजन भट्टराईले शीतलहर र मनसुनजन्य विपद्को प्रतिकार्य, राहतउद्धार गर्ने कामको कार्यान्वयन गर्ने मुल जिम्मेवारी जिल्ला र स्थानीय तहलाई दिएकोले स्थानीय तहले नै सम्पूर्ण काम गर्ने बताए। संविधानले विपद् व्यवस्थापनलाई एकल अधिकारको क्षेत्रमा राखेको कारण स्थानीय विपद् व्यवस्थापन समितिले धेरै काम आफै गर्न सक्ने भएकोले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय विपद् व्यवस्थापन समितिलाई नीतिगतरूपमा बलियो बनाउन लाग्ने बताए । प्रवक्ता भट्टराईले स्थानीय विपद् व्यवस्थापन समितिले मागेका कुराहरू प्राधिकरणले पूरा गर्ने बताए । उनले स्थानीय तहले मागेअनुसारको राहत दिन पनि प्राधिकरण तयार रहेको बताए ।

‘शीतलहरको होस् वा मनसुनजन्य कुराहरूको होस्, कार्यान्वयन गर्ने मुल जिम्मेवारी, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिमै छ । स्थानीय विपद् व्यवस्थापन समिति वा स्थानीय तहलाई त संविधानले पनि विपद् व्यवस्थापनलाई एकल अधिकारको क्षेत्रमा राखेको कारणले गर्दा मुलतः स्थानीय विपद् व्यवस्थापन समितिलाई दरिलो बनाउने कुरामा नै हाम्रो ध्यान आकृष्ट छ,' उनले भने, 'हामी त्यसैम बढी सजग छौँ । उहाँहरूलाई दरिलो बनाउनु पर्छ भन्ने कुरामा हामी लागेका छौँ । उहाँहरूले नै यो कामलाई थप अघि बढाउनुहुन्छ । उहाँहरूले मागेको आवश्यक्ता, चाहिएको प्राविधिक सहयोग दिन हामी अहिले पनि तयार छौँ । केन्द्रले सिधै स्थानीय तह, जिल्लासँग समन्वय नगर्ने भन्ने कुरा होइन । हाम्रो विभिन्न ठाउँमा गोदाम घरहरू पनि छन् । यसरी हेर्दा हामी त्यति धेरै राहत दिन नसक्ने अवस्थामा छैनौँ । आवश्यक्ता परे हरेक किसिमका कदममा राहत उपलब्ध गराउन सक्‍छौँ ।'

प्रवक्ता भट्टराईले हालसम्म प्राधिकरणमा आफैँ पूर्व सूचना प्राप्त गर्ने संयन्त्र निर्माण गर्न नसक्नु चुनौति रहेको बताए । उनले मौसम विज्ञान विभाग (डीएचएम) बीचको सहकार्यमा आएका सूचनाहरूलाई गम्भीरताका साथ लिएर मात्रै जनतासमक्ष पूर्वसूचना दिने गरेको बताए ।

‘आज पनि हामीले प्रारम्भिक सूचना लिने कुरा भनेको मौसम पूर्वानुमान महाशाखा नै हो । हाम्रो राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आफैँ पूर्व सूचना प्राप्त गर्ने संयन्त्र निर्माण गर्न सकेको छैन । हामीले मात्रै संयन्त्र निर्माण गर्नुपर्छ भन्ने पक्षमा पनि हामी छैनौँ,' उनले भने, 'हाम्रो र डीएचएमबीचको सहकार्यमा यी सूचनाहरू जरी हुन्छन् । उहाँहरूले प्रारम्भिक सूचना ल्याउनुहुन्छ र उहाँहरूसँग भेरिफाइ गरेर यसको गाम्भीर्यताको बारेमा थप बुझेपछि हामीले धेरै जनतालाई त्रसित बनाउने कुरा पनि हुँदैन । त्यसकारण उहाँहरूसँगको समन्वयमा कति सूचना जनतामा पठाउने भन्ने छलफल गरेपछि त्यहीअनुसारको सूचना प्रवाह गर्ने प्रणालीको विकास छ ।’ सूचना अधिकारी भट्टराईले मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनालाई प्रमाणीकरण गरेर मात्रै जनतालाई सूचना दिने गरिएको बताए।