रानीपोखरीको उद्घाटन भोलि

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीबाट रानीपोखरीको उद्घाटन भोलि बुधबार हुने भएको छ । पुनः निर्माणको सम्पूर्ण कार्य पूरा गरी पोखरीमा पानी हाल्ने कामसमेत पूरा भएपछि उद्घाटन हुन लागेको हो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाका अनुसार रानीपोखरी उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । प्राधिकरणले जिम्मा पाएको दुई वर्षको अवधिमा पुनःनिर्माण कार्य पूरा भएको हो । यसका लागि करिब २५ करोड रुपैयाँ खर्च भएको छ ।
यसअघि काठमाडौं महानगरपालिकाले यसको पुनःनिर्माण जिम्मा लिएको थियो । पुनःनिर्माण गर्दै जाने क्रममा महानगरले पुरातात्विक सम्पदा मासिने गरी आधुनिक कंक्रिटको प्रयोग गरेपछि विवाद उत्कर्षमा पुगेको थियो ।
मन्त्रिपरिषद्को २०७५ माघ १५ गतेको बैठकले बालगोपालेश्वर मन्दिरसहित रानीपोखरीको पुनःनिर्माणसम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणलाई दिने निर्णय गरेको थियो ।
२०७२ को विनाशकारी भूकम्पका कारण बालगोपालेश्वर मन्दिर भत्किएको थियो । विवादअघि समग्र रानीपोखरीको पुनःनिर्माण दुईवटा प्याकेजमा गरिएको थियो । महानगरपालिकाले बगैंचा, पर्खाल र पोखरीको जिम्मा पाए पनि काम गर्न सकेन । त्यस्तै बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण मल्लकालीन ग्रन्थकुट शैलीमा गर्ने कि राणाकालीन गुम्बज शैलीमा भन्ने विवाद थियो ।
पछि मन्त्रिपरिषद्ले सम्पूर्ण जिम्मा प्राधिकरणलाई दिएपछि यसको विवाद अन्त्य भएको थियो ।
खानेपानी सचिव माधव बेलबासेका अनुसार रानीपोखरीमा आवश्यक पर्ने सम्पूर्ण पानी हालिएको छ । उनका अनुसार रानीपोखरीमा झन्डै चार करोड लिटर पानी जम्मा गरिएको छ ।

युएई जाने नेपाली श्रमिकको तलब निर्धारण

सशस्त्रका दुई गोताखोर सप्तकोशी नदीमा बेपत्ता

वातावरणमैत्री विकासमा जोड दिन आयोगको आग्रह

निजामती कर्मचारी संगठनले संघीय निजामती ऐन जारी नभए आन्दोलन गर्ने (भिडियो)

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

सगरमाथा नेक्स्टको “एट द टिपिङ पोइन्ट”मा हिमालदेखि विश्वसम्मको कला संवाद हुँदै

पूर्वीय दर्शन र आधुनिक सीप समेट्दै चन्द्रागिरीमा ३५ करोड लगानीमा एसभीएएन स्कुल…

प्रतिक्रिया