इलामका निर्माण व्यवसायी भन्छन्- एउटा आयोजना पुरा गरेमात्रै अर्को ठेक्का दिइनुपर्छ
'एक जनाले सयौं योजनाको जिम्मा लिने र अलपत्र पारेर छाड्ने प्रवृत्ति अन्त्यका लागि नयाँ नियम आवश्यक'

इलाम - निर्माण व्यवसायी संघ इलामका पदाधिकारीले एउटा कम्पनीले पाएको काम पुरा गरेपछि मात्रै अर्को आयोजना दिनुपर्ने बताएका छन् । संघको २० औं साधारणसभा तथा नवौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमका सहभागी पदाधिकारीले यस्तो धारणा राखेका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले एउटा आयोजनाको ८० प्रतिशत काम पुरा गरेको व्यवसायीलाई मात्रै अर्को आयोजनाको जिम्मा दिनुपर्ने बताए । अध्यक्ष सिंहले विल्व सिस्टमलाई हटाएर क्षमताको आधारमा काम दिइनुपर्नेमा जोड दिए । निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले पनि एउटा कम्पनीलाई निश्चित आयोजनाको जिम्मा दिने र त्यो पुरा भएपछि मात्रै अरू योजनाहरू दिनुपर्ने पक्षमा आफू पनि रहेको बताए ।
कार्यक्रमका उपाध्यक्ष आङदोजी लामा, महासचिव रोशन दाहाललगायत पदाधिकारी सहभागी थिए । उनीहरूलेसमेत निर्माण एक जनाले सयौं योजनाको जिम्मा लिने र अलपत्र पारेर छाड्ने प्रवृत्तिको अन्त्यको लागि नयाँ नियम आवश्यक रहेको औंल्याए ।
इलाम नगरपालिकाको प्रमुख महेश बस्नेतले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि निजी क्षेत्रको महत्त्वपूर्ण योगदान हुने भन्दै पुँजीगत खर्चको माध्यमबाटै राज्यको स्रोत नागरिकसम्म पुग्ने भए पनि त्यो सन्तोषजनक नभएको बताए । ‘पुँजीगत खर्च सन्तोषजनक छैन, खर्च सन्तोषजनक नहुँदा राज्यको स्रोत पनि सबै नागरिकसमक्ष पुगेको छैन’, उनले भने,‘सबै निर्माण व्यवसायीको मात्रै दोष होइन, सार्वजनिक खरिद ऐन र नियमावली नै समयानुकूल बनाउनुपर्छ ।’
निर्माण व्यवसायी संघले आफ्नो अधिवेशनको अवसरमा इलाममा मेडिकल कलेज स्थापनाको लागि जग्गा व्यवस्थापन गर्न तीन लाख रूपैयाँ सहयोग गरेको छ । मेडिकल कलेज स्थापना गर्नको लागि इलाम नगरपालिकाले प्रक्रिया सुरू गरेको छ । नगरपालिकाले जग्गा व्यवस्थापनको लागि समिति नै बनाएर प्रक्रिया अघि बढाएको । संघका अध्यक्ष सुभाष चिपालुले इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतलाई तीन लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
आइतबार सुरू भएको निर्माण व्यवसायी संघको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न हुनेछ । व्यवसायी संघको अध्यक्षको लागि चार जना आकांक्षी छन् । वर्तमान अध्यक्ष सुभाष चियालु, पूर्वध्यक्ष राजकुमार भक्तराज, सन्तोष कटुवाल र डिल्ली खनाल अध्यक्षको दौडमा छन् । निर्माण व्यवसायी संघमा २ सय २० व्यवसायी आवद्ध छन् ।

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

ग्लोबल कन्जुमर एक्स्पो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सुरु

संघ, प्रदेश सरकारी निकाय र स्थानीय तहमा बेरुजु रकम ७ खर्ब बढी

प्रतिक्रिया